घरदैलोमा विकास र रोजगारको आशा जगाउँदै कांग्रेसका अतहार कमाल

समाचार

इमरान खान, कपिलवस्तु । कपिलवस्तु क्षेत्र नं. १ का नेपाली कांग्रेसका चुनाव रुखका प्रत्यक्ष उम्मेदवार अतहर कमाल यतिबेला घरदैलो अभियानमा सक्रिय छन् । उनले घर–घर पुगेर मतदातासँग भेटघाट गर्दै आफ्ना एजेन्डा र योजनाबारे जानकारी गराइरहेका छन् ।

घरदैलोका क्रममा अतहर कमालले जनताको समस्या, गुनासा र सुझाव ध्यानपूर्वक सुन्ने गरेका छन् । उनले कपिलवस्तुमा रोजगारी सिर्जना, स्वास्थ्य, आर्थिक सुधार, सुशासन र विकासलाई प्राथमिकतामा राखेको बताएका छन् । जनताले अहिले आर्थिक तथा सामाजिक कठिनाइ भोगिरहेको उल्लेख गर्दै उनले परिवर्तनका लागि आफू प्रतिबद्ध रहेको धारणा राखेका छन् ।

त्यस्तै, उनले धमिलिएको राजनीतिलाई मुहानदेखि नै सफा गर्नुपर्ने आवश्यकता औंल्याएका छन । राजनीति सुधार्न स्पष्ट दृष्टिकोण, इमान्दार नेतृत्व र पारदर्शी कार्यशैली आवश्यक रहेको उनको युवा नेता कमालको भनाइ छ ।

उनले वर्तमान परिस्थितिमा निजी क्षेत्रलाई विश्वासमा लिएर अघि बढ्नुपर्ने आवश्यकतामा जोड दिएका छन । उनका अनुसार निजी क्षेत्रसँग सहकार्य नगरी दिगो विकास सम्भव छैन । जनतामा अझै पनि परिवर्तनको चाहना र तृष्णा जीवित रहेको उल्लेख गर्दै त्यसलाई मर्न दिन नहुने उनले बताएका छन् ।

साथै, निर्वाचनपछि आउने नेतृत्वको मुख्य दायित्व नै जनतामा आशा र विश्वास जगाउनु भएको अतहर कमालको भनाइ छ ।

मतदातासँगको प्रत्यक्ष संवादबाट उत्साहित देखिएका अतहर कमालले यसपटक सक्षम र निष्ठावान नेतृत्व चयन गर्नुपर्ने आवश्यकता औंल्याउँदै सहयोग र समर्थनको अपिल गरेका छन् । आफूलाई विजयी गराए कपिलवस्तु लाई विकासको नयाँ दिशातर्फ अघि बढाउने प्रतिबद्धता उनले व्यक्त गरेका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ