राकेश यादव, रौतहट । रौतहट निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रत्यक्ष तर्फका उम्मेदवार राजेश चौधरी फराकिलो मतान्तरबाट निर्वाचित भएका छन् ।
हट सिटका रुपमा चित्रण गरिएका यो निर्वाचन क्षेत्रमा पहिलो पटक पिछडा बर्गका राजेश चौधरीले बाजी मारेका हुन् । २०४७ सालको आन्दोलन पछि यो निर्वाचन क्षेत्रमा पटक पटक उच्च बर्गका बर्चश्व कायम रहदै आएको थियो ३१ बर्ष पछि यो निर्वाचन क्षेत्रमा परिवर्तन भएको हो ।
पूर्वप्रधानमन्त्री, पूर्वमन्त्री र प्रदेश सरकारका पूर्वराज्यमन्त्री चुनावी प्रतिस्पर्धामा रहेका क्षेत्रमा चौधरीले नेकपा एमालेका उम्मेदवार अजय कुमार गुप्तालाई १८ हजार ८५३ मतको अन्तरले पराजित गर्दै ऐतिहासिक जीत दर्ज गरेका हुन् ।
चौधरीले २८ हजार ९ सय ४६ मत ल्याएर विजयी भएको मुख्य निर्वाचन अधिकृत मनोज केसीले जानकारी दिएका छन् । नेकपा एमालेका अजय कुमार गुप्ता १० हजार ९३ मत ल्याएर दोस्रो भएका छन् ।
पूर्वमन्त्री नेपाली कांग्रेसका अनिल कुमार झा ८ हजार ५७४ मत प्राप्त गरि तेस्रो स्थान हासिल गरेका छन् भने नेपाली कम्युनिस्ट पार्टीका सह संयोजक पूर्वप्रधानमन्त्री माधव कुमार नेपाल ७ हजार ६६९ मत प्राप्त गरि चौथो तथा पुर्व राज्मन्त्री जनता समाजवादी पार्टी नेपालका योगेन्द्र राय यादवले ६ हजार ८४६ मत प्राप्त गरि पाँचौ स्थान प्राप्त गर्न सफल भएका हुन् ।
रौतहट क्षेत्र नम्बर १ मा ७१ हजार २०३ मत खसेकोमा ५ हजार १०३ मत बदर भइ ६६ हजार ५३ मत सदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
यो निर्वाचन क्षेत्रबाट एक पटक ब्रज किशोर सिंह, ३ पटक पुर्व प्रधानमन्त्री माधव कुमार नेपाल, एक पटक बबन कुमार सिंह र एक पटक पुर्व मन्त्रि अनिल कुमार झा निर्वाचित भएका थिए ।
तपाईको प्रतिक्रिया