काठमाडौं । जनअधिकार पार्टीका अध्यक्ष डा.शरद सिंह यादवले नयाँ सरकार गठन र मधेशी मूलका पहिलो प्रधानमन्त्रीका रूपमा बालेन शाहको नियुक्तिसँगै तराई–मधेशका जनतामा नयाँ उत्साह छाएको बताएका छन् ।
उनले सरकारले हालै कार्की आयोगको प्रतिवेदन सार्वजनिक गरी कार्यान्वयनको प्रक्रिया अघि बढाएकोमा स्वागत गर्दै मधेश आन्दोलनसँग जोडिएका अन्य महत्वपूर्ण मुद्दाहरूमा पनि सरकारको ध्यानाकर्षण गराएका हुन् ।
अध्यक्ष डा.यादवले विभिन्न चरणमा भएका पहिलो र दोस्रो मधेश आन्दोलनपछि राज्य र आन्दोलनकारी पक्षबीच भएका २२ बुँदे र ८ बुँदे सम्झौताहरूलाई पूर्ण रूपमा कार्यान्वयन गर्न सरकारसँग माग गरेका छन् ।
उनले तेस्रो मधेस आन्दोलनका घटनाहरूको छानबिन गर्न गठित लाल आयोगको प्रतिवेदन सरकारले अझै सार्वजनिक नगरेकोमा आपत्ति जनाउँदै त्यसलाई तत्काल सार्वजनिक गर्नुपर्नेमा जोड दिए ।
लाल आयोगको प्रतिवेदनले दोषी ठहर गरेका व्यक्तिहरूमाथि कडा कानुनी कारबाही हुनुपर्ने र पीडितलाई न्याय दिनुपर्ने उनको भनाइ छ।
यसका साथै, २०७३ साल फागुन २३ गते सप्तरीको मलेठ भएको घटनाको अहिलेसम्म पनि निष्पक्ष छानबिन हुन नसकेको भन्दै अध्यक्ष यादवले उक्त ‘मलेठ नरसंहार’को सत्यतथ्य बाहिर ल्याउन सरकारलाई आग्रह गरेका छन् ।
जनअधिकार पार्टीले यी सबै पुराना अल्झिएका मुद्दाहरूलाई सरकारले अग्रगामी कदम चालेर छिटोभन्दा छिटो टुङ्गोमा पु¥याउने विश्वास लिएको छ।
तपाईको प्रतिक्रिया