महोतरी । राष्ट्रिय एकता दल, महोतरीले कपिलवस्तु घटनामा संलग्नमाथि कडा कारबाही र मृतक अरुण यादव (जीतेन्द्र यादव) लाई शहीद घोषणा गर्न माग गर्दै प्रधानमन्त्रीसमक्ष ज्ञापन पत्र पेश गरेको छ । उक्त ज्ञापन पत्र प्रमुख जिल्ला अधिकारी, महोतरीमार्फत पठाइएको हो ।
दलले कपिलवस्तु जिल्लाको महाराजगन्ज नगरपालिका–२, बरगदामा केही दिनअघि भएको घटनामा शान्तिपूर्ण आन्दोलनका क्रममा प्रहरीको गोली लागेर गम्भीर घाइते भएका अरुण यादव (जीतेन्द्र यादव) को उपचारका क्रममा भएको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ। यस घटनाले लोकतान्त्रिक मूल्य, मानव अधिकार तथा विधिको शासनमाथि गम्भीर आघात पुगेको दलको ठहर छ।
ज्ञापन पत्रमार्फत राष्ट्रिय एकता दलले मृतकलाई तत्काल शहीद घोषणा गर्न, पीडित परिवारलाई उचित क्षतिपूर्ति र दीर्घकालीन सहयोग सुनिश्चित गर्न माग गरेको छ। साथै, घटनामा संलग्नमाथि निष्पक्ष छानबिन गरी दोषीलाई कडा कानुनी कारबाही गर्नुपर्नेमा जोड दिइएको छ।
त्यसैगरी, धार्मिक आस्थामाथि आक्रमण गर्ने व्यक्तिहरूलाई तत्काल पक्राउ गरी कानुनी दायरामा ल्याउन तथा भविष्यमा यस्ता घटना दोहोरिन नदिन प्रभावकारी सुरक्षा व्यवस्था र नीति लागू गर्न सरकारसँग आग्रह गरिएको छ।
ज्ञापन पत्र पेश गर्ने क्रममा जिल्ला अध्यक्ष कृष्ण कुमार यादव (सुरज) सहित राधेश्याम यादव, घनश्याम यादव, राम यादव, लक्ष्मण कुमार यादव, सुजित कुमार ठाकुर, अमृत कुमार राउत र रोशन कुमार राउतको उपस्थिति रहेको थियो।
राष्ट्रिय एकता दलले सरकारलाई यस घटनामा गम्भीरता देखाउँदै यथाशीघ्र ठोस निर्णय लिन आग्रह गरेको छ।
तपाईको प्रतिक्रिया