लन्डन । वरिष्ठ हृदय रोग विशेषज्ञ डा भगवान कोइरालाको नेतृत्वमा स्थापित काठमाडौं चिल्ड्रेन्स हस्पिटलको सहयोगार्थ लन्डनमा एक भव्य च्यारिटी कार्यक्रम आयोजना गरिएको छ।
के–पाल्स यूकेले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई सहयोग पुर्याउने उद्देश्यले ह्यारोस्थित ब्लु रुममा आयोजित च्यारिटीमा सांस्कृतिक प्रस्तुतिका साथै राफल ड्र र अक्शन पनि गरिएको थियो ।
काठमाडौँबाट भर्चुएल माध्यमबाट कार्यक्रमलाई सम्बोधन गर्दै डा भगवान कोइरालाले सन् २०१७ मा गैरनाफामूलक संस्थाका रूपमा स्थापना भएको काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थले नेपालभरका बालबालिकाका लागि उच्चस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने लक्ष्य राखेको बताए ।
उनले गएको तीन दशकमा मातृ मृत्यु दर तथा शिशु मृत्यु दरमा उल्लेख्य सुधार भए पनि विकसित मुलुकहरुको तुलनामा नेपालमा बाल मृत्यु दर अझै उच्च रहेको बताए। उनले गुणस्तरीय मात्र होइन, सुलभ र पहुँचयोग्य स्वास्थ्य सेवा प्रदान गर्दै बालबालिकाको जीवनस्तर सुधार गर्ने उद्देश्यले नेपालका सातै प्रदेशमा बाल अस्पताल निर्माण गर्ने लक्ष राखिएको जनाए।
उनले गएको तीन वर्षदेखि कोशी प्रदेश अन्तर्गत दमकमा बाल अस्पताल संचालन भै रहेको र काठमाडौँको बुढानिलकण्ठ नगरपालिका हेपाली हाइटमा केन्द्रीय अस्पताल निर्माणाधीन रहेको बताए। उनले अस्पताल निर्माण गर्न सघाइरहेका एनआरएन मित्रहरु लगायत सबै संघसंस्थालाई हार्दिक धन्यवाद पनि दिए ।
कार्यक्रमका प्रमुख अतिथि बेलायतका लागि नेपालका कार्यवाहक राजदूत बिपिन दुवाडीले नेपाल सरकारले बाल स्वास्थ्य सुधारका लागि थुप्रै लगानी र कार्यक्रमहरु संचालन गरिरहेको बताउंदै काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थजस्ता संस्थाहरुले देशका विभिन्न भागमा बालबालिकाका लागि गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न सुरु गरेको प्रयास प्रशंसनीय रहेको बताए।
उनले प्रवासमा बसेर नेपालमा शिक्षा, स्वास्थ्य जस्ता सेवा सुधार गर्न सहयोग पुराइ रहेका युके लगायत संसारभरी बसी रहेका नेपालीहरुलाई धन्यवाद पनि दिए।
कार्यक्रममा डा सुदर्शन गुरुङले लोकप्रिय गीतहरु गाए भने कलाकारहरु डा प्रतिष्ठा त्रिपाठी, कविता रानामगर, दीप्ति कोजु, अरिशा शाक्य, आइशा मोक्तानले नृत्य प्रदर्शन गरेका थिए।
कार्यक्रममा बोल्दै कीर्तिमानी पर्वतारोही हरि बुढामगरले संसारमा अहिले झन्डै १ अर्ब ३० करोड मानिसमा कुनै न कुनै किसिमको अपांगता रहेको बताउंदै अपाङ्ग व्यक्तिहरुले पनि आफ्ना सपना पुरा गर्न सक्छन् भन्ने देखाउन आफुले सर्वोच्च शिखर सगरमाथा सहित सातै महादेशका सबैभन्दा अग्ला चुचुराहरु सफलतापूर्वक आरोहण गरेको बताए।
उनले नेपालका बालबालिकाहरुको सहयोगार्थ सबैले हातेमालो गर्नु पर्ने जनाए। के-पाल्स युकेका सल्लाहकार डा डेभिड स्टोनहाउसले कियोचसंग आबद्ध स्वास्थ्यकर्मीहरुको सीप विकास गर्न आफुहरुले सघाइरहेको बताए।
एनआरएनए आइसीसीका उपाध्यक्ष रामशरण सिम्खडाले पारदर्शिता कायम गरेमा सहयोग जुटाउन मदत पुग्ने भन्दै जुटेको सहयोग रकमको सदुपयोग हुनुपर्नेमा जोड दिए। त्यस्तै एनआरएनए युकेका अध्यक्ष राजेन्द्र पुडासैनीले सरकारले गर्नु पर्ने काम च्यारिटीले गरिरहेको भन्दै नेपालभरि बाल अस्पताल निर्माण गर्ने अभियानलाई व्यक्तिगत तथा संस्थागतरुपमा सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए। उनले आजका बालबालिका नै भविष्यका कर्णधार हुन् भन्दै उनीहरुलाई राम्रो शिक्षा र स्वास्थ्य सेवा उपलब्ध गराएमा उनीहरु नै देशको स्तम्भ बन्ने धारणा व्यक्त गरे।
सबै सहभागीहरुलाई स्वागत गर्दै के–पाल्स यूकेका ट्रष्टी डा दुर्गा सिग्देलले बेलायतमा च्यारिटीको रुपमा दर्ता भएको के–पाल्स यूकेले आर्थिक तथा चिकित्सकीय उपकरणका साथै नेपालका डक्टर, नर्स र अन्य जनशक्तिलाई प्रशिक्षण तथा सीप हस्तान्तरण गर्ने काम गरिरहेको जानकारी दिए। अर्का ट्रष्टी शिवजी श्रेष्ठले प्रायोजक लगायत सबैलाई धन्यवाद दिए।
के–पाल्स यूकेकी ट्रष्टी तथा एनआरएनए आइसीसीकी सचिव प्रसुना कडेलले रोचक तरिकाले कार्यक्रम संचालन गरेकी थिइन्। नेपालमा सस्तो र सहज बाल स्वास्थ्य सेवा प्रवाहमा काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई सहयोग गर्ने लक्ष्यसहित के–पाल्स यूके स्थापना गरिएको उनले बताइन् ।
कार्यक्रम आयोजना गर्न के–पाल्स यूकेका ट्रष्टीहरु प्रा डा सत्यन राजभण्डारी तथा डा रमेश कोजुले सक्रिय भूमिका निर्वाह गरेका थिए।
तपाईको प्रतिक्रिया