इमरान खान, कपिलवस्तु । नेपालका विभिन्न जिल्लामा सुन चोरीमा संलग्न रहेको आरोपमा ४ जना पाकिस्तानी पक्राउ परेका छन् । २ जना महिला र २ पुरुष पक्राउ परेका हुन् ।
गत वैशाख १ गते कपिलवस्तुको चन्द्रौटामा दुई महिला र गत वैशाख ५ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २ पुरुषलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक रिपेन्द्रकुमार सिंहले बताए ।
गत वैशाख १ गते चन्द्रौटामा पक्राउ परेका महिलासँग सोधपुछपछि सुन चोरी गर्ने गिरोहमध्ये थप २ जना पाकिस्तानी पक्राउ परेका हुन् । गत चैत १ गते कपिलवस्तुको चन्द्रौटास्थित सुरेन्द्र सुनचाँदी पसलमा सुन चोरीको आरोपमा २ जना पाकिस्तानी महिला पक्राउ परेपछि प्रहरीले अनुसन्धानका क्रममा सोही गिरोहका थप २ जना पुरुष पाकिस्तानी पक्राउ परेका हुन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २३ वर्षीय इरफान अली र ४४ वर्षीय सैफर रहमान पक्राउ परेको प्रहरी नायब उपरीक्षक रिपेन्द्रकुमार सिंहले जानकारी दिएका छन् । पक्राउ परेका दुवै जनाबाट १७ हजार १ सय ३६ अमेरिकी डलर, साउदी रियाल ३ सय २५, बंगलादेश टाका १ हजार ६१५, युएई दिराम ५, मलेसिया रिंगेट १ सय ८५ बरामद भएको छ । यस्तै इन्फिनिक्स र आइफोन १६ मोबाइल सेट एक–एक थान समेत बरामद भएको छ ।
चन्द्रौटामा २० वर्षीया बिबि कसलुम र ४१ वर्षीया सबाना सुन किन्ने बहानामा विभिन्न गहना हेर्ने गएर सुन चोरी गर्ने गरेको सिसिटिभीको फुटेजमा देखिएको थियो । चोरीपछि पसलबाट बाहिर निस्किँदा उनीहरूले मास्कमाथि बुर्का लगाएर आफ्नो पहिचान लुकाउने गर्थे ।
ती महिलाहरू सो पसलबाट सुनको झुम्का चोरेर भागेका थिए। पसल संचालकले गहना हराएको थाहा पाएपछि तत्काल बजार क्षेत्रमा खोजी गरे । केही पर पुगेपछि ती महिलाहरू फेला परेका थिए। अनि प्रहरीलाई खबर गरिएको थियो । त्यसपछि उनीहरूलाई वडा प्रहरी कार्यालयले नियन्त्रणमा लिएको थियो ।
प्रहरीले ती महिलाबाट ३८ लालको सुनको झुम्का, नेपाली नोट ८६ हजार ४०, पाकिस्तानी रकम ३०, पाकिस्तानी पासपोर्ट दुई थान बरामद गरेको थियो । ती महिलाहरूले तौलिहवाको चोक बजारस्थित बागेश्वरी ज्वेलर्स र सच्चिदानन्द ज्वेलर्सबाट समेत सुन चोरेका थिए ।
गत चैत २८ गते बागेश्वरी ज्वेलर्सबाट एक तोलाको सुनको गहना र चैत ३० गते सच्चिदानन्द ज्वेलर्सबाट ३ लाख ८३ हजारको सुनको सिक्री चोरेर ती महिलाहरू भागेका थिए ।
सो गिरोहले इटहरीमा दुई तोला सुन, मोरङमा एक तोला र बुटवलमा ३ तोला सुन चोरेको भन्दै सम्बन्धित प्रहरी कार्यालयमा समेत उजुरी परेको छ। पक्राउ परेका चारै जनालाई अदालतबाट म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरी नायब उपरीक्षक सिंहले बताए ।
तपाईको प्रतिक्रिया