पोखरी ठेक्का रकमको लागि मुद्दा गरी फसाउन खोजेको ठेकेदारको गुनासो

समाचार

राकेश यादव, रौतहट । जिल्लाको गरुडा नगरपालिका ७ गेडहिगुठीका परीक्षण सहनी (राजकुमार सहनी) ले बृन्दावन नगरपालिकाले आफूलाई अन्यायपूर्वक फसाउन खोजिएको बताएका छन् ।

बृन्दावन–८ बहुअरीस्थित श्री नमुना माध्यमिक विद्यालय बरगजवाको नाउँमा रहेको करिब ४ बिघा ४ कठ्ठा क्षेत्रफलको पोखरी ठेक्कामा लिएकोमा सम्झौताअनुसार काम गर्न नदिइएको आरोप लगाएका हुन् ।

माछा पालनको लागि पोखरी ठेक्का लिएका ठेकेदार सहनीले पोखरी तत्कालीन नगर प्रमुख राम यादव, तत्कालीन वडा ८ का अध्यक्ष दिनानाथ महतोको कार्यकालमा २०७८ जेठ ३ गते डाक बढाबढ प्रक्रियामार्फत पाँच वर्षका लागि ५६ लाख रुपैयाँमा ठेक्का सम्झौता गराएको उल्लेख गरे ।

सहनीले पहिलो किस्ताबापत ११ लाख ३० हजार रुपैयाँ बुझाएर माछापालन सुरु गरेका बताउँदै २०७९ बैशाख ३० गते स्थानीय तहको दोस्रो निर्वाचनमा वृन्दावन नगरपालिकाको मेयर पदमा बिनोद प्रसाद कुर्मी र वडा ८ को अध्यक्षमा रबिन्द्र भन्ने उपेन्द्र साह निर्वाचित भएपछि पोखरीको मर्मत तथा पानी व्यवस्थापनमा बेवास्ता गर्दा व्यवसाय प्रभावित भएको बताए ।

“पानी नै नभएको पोखरीमा कसरी माछा पाल्ने ?” भन्दै उनले पटक–पटक पोखरी छोड्न नगरपालिकामा निवेदन दिँदा समेत दर्ता नगरिएको आरोप लगाएका छन् । स्थानीय तह निर्वाचनपछि नयाँ जनप्रतिनिधि आए पछि व्यवस्थापनमा सुधारप्रति बेवास्ता गरेको उनको भनाइ छ ।

सहनीका अनुसार पहिलो पटक उक्त पोखरीमा राखिएको भूर्रामाछा केही ठूलो साईज भएको थियो । २०८० चैत २८ गते पोखरीमा पानी घटेपछि माछा निकाल्ने क्रममा वडा अध्यक्ष रविन्द्र शाह (उपेन्द्र साह) को अगुवाइमा बलपूर्वक माछा बिक्री गरिएको तर त्यसको रकम आफूहरूले नपाएको दाबी गरिएको छ ।

यसैबीच वृन्दावन नगरपालिकाले उल्टै ठेकेदार सहनी विरुद्ध अदालतमा मुद्दा दायर गर्नुका साथै अख्तियार दुरुपयोग अनुसन्धान आयोग, हेटौंडामा समेत उजुरी परेको सहनीले बताएका छन्। “पहिलो किस्ताको रकमसमेत उठाउन सकेका छैनौं, उल्टै बाँकी ४५ लाख तिर्नुपर्ने भन्दै मुद्दा हालिएको छ,” उनले गुनासो गरेका छन् ।

मंगलबार पोखरीको डिलमै आयोजित पत्रकार सम्मेलनमा पीडित पक्षले आफूहरूले बुझाएको रकम फिर्ता गराउन र न्याय दिलाउन सञ्चारकर्मीसँग माग गरेका छन् । कार्यक्रममा स्थानीयवासीहरूले समेत नगरपालिकाले अनावश्यक रूपमा ठेकेदारलाई फसाउन खोजेको आरोप लगाएका थिए ।

यस विषयमा पूर्व वडा अध्यक्ष दिनानाथ महतोले पनि पानी अभावका कारण पोखरी सञ्चालन कठिन भएको बताएका छन् । पूर्वअध्यक्ष महतोका अनुसार पालिकाको हेलचक्राईको कारण पछिल्लो तीन बर्षदेखि पोखरी पूर्णरूपमा सुखा छ एकथोपा पानी छैन। यस्तो अवस्थामा ठेकदारले कसरी माछा पालन गर्ने र पालिकालाई कहाँबाट पैसा दिन्छ । मेयर कुर्मी मात्र नभई अदालत, अख्तियार समेतले पोखरीको अवस्थाबारे स्थलगत अनुगमन गरेमा कसैमाथि अन्याय हुँदैन उनको दाबी रहेको छ ।

पत्रकार सम्मेलनमा ठेकदार सहनिका साथै वडा ८ का सञ्जय यादव, महेन्द्र साह, बिरेन्द्र यादव, सिकिन्द्र यादव तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सिकिन्द्र यादव लगायतको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ