सप्तरी । भन्सारमा देखिएको समस्याबारे जन अधिकार पार्टीले जिल्ला प्रशासन कार्यालय सप्तरी मार्फत प्रधानमन्त्री र अर्थमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ ।
जन अधिकारका अध्यक्ष डा.शरदसिंह यादवले जिल्ला प्रशासन कार्यालय सप्तरीमार्फत प्रधानमनत्री बालेन्द्र शाह र अर्थमन्त्री स्वर्णिम वाग्लेलाई भन्सार समस्याबारे ज्ञापनपत्र बुझाएका हुन् ।
छिमेकी राष्ट्र भारतबाट रु एक सय भन्दामाथिको सामान ल्याउँदा कर लाग्ने व्यवस्था गरिएकोप्रति जनअधिकार पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै अध्यक्ष यादवले यो नियम तराई मधेशका गरीब निमुखा जनता विरोधी निर्णय रहेको जिकिर गरेका छन् ।
उनले विज्ञप्तिमा भनेका छन्, ‘यो दुई देशको बीचमा गरिएको अघोषित नाकाबन्दी भएको हाम्रो पार्टीको ठहर छ । नेपाल–भारतबीच सदियौंदेखि रहँदै आएको विशेष सम्बन्ध समेतलाई यो निर्णयले खलल पुरÞ्याएको छ । आफन्तजनलाई कुनै कोसेली दिन खोज्दा या बोकेर ल्याउन लाग्दा समेत असर पार्न सक्ने अवस्था छ । रोजगारी नदिने, रोजगारीमा रहेकाहरुलाई उचित पारिश्रमिक नदिने र द्रुत गतिमा महँगी बढ्दा समेत नियन्त्रण नगरी सिधै जनतालाई मार्ने नीति यो सरकारले लिएको छ । यसप्रति खेद प्रकट गर्दछु ।’
सीमावर्ती नेपाली क्षेत्रमा गरीब र विपन्न र बेरोजगार परिवारहरुको बसोबास रहेको छ । जनतालाई पीडा दिने यस्ता कानुन अबिलम्ब फिर्ता लिई जनतालाई राहत उपलब्ध गराउँदै रोजगारी र रोजगारीको उचित पारिश्रमिक निर्धारण गर्न सरकारसँग उनले जोड्दार माग गरेका छन् ।
‘सरकार यसतर्फ गम्भीर बन्नेछ भन्ने विश्वास हामीलाई छ,’ भन्दै अन्यथा जनताको पक्षमा चरणबद्ध संघर्षमा उत्रिने चेतावनी पनि उनले दिएका छन् ।
तपाईको प्रतिक्रिया