तौलिहवा ट्राफिक प्रहरी कार्यालयद्वारा “म जिम्मेवार चालक” अभियान सञ्चालन

समाचार

इमरान खान, कपिलवस्तु । जिल्लाको तौलिहवामा सडक दुर्घटना न्यूनीकरणका लागि “म जिम्मेवार चालक” अभियान सञ्चालन गरिएको छ । सवारी साधनको चापसँगै सडक दुर्घटना बढ्दै गएपछि ट्राफिक प्रहरीले सदरमुकाम तौलिहवामा लक्षित सो अभियान सुरु गरेको हो ।

अभियानको क्रममा ‘म जिम्मेवार चालक’ भन्ने लेखिएको पोस्टर २ र ४ पांग्रे सवारी तथा अन्य सवारी साधनहरुमा टाँसिएको थियो । तौलिहवाको बहादुरगञ्ज जाने चोकबाट सो अभियानको शुरु गरिएको थियो । ट्राफिक प्रतिबद्धताअन्तर्गत पम्प्लेट टाँस्ने तथा वितरण कार्यक्रम गरिएको हो ।

ट्राफिक प्रहरी कार्यालय तौलिहवाका प्रमुख प्रहरी नायब निरीक्षक विष्णु प्रसाद न्यौपानेको नेतृत्वमा अभियान सञ्चालन गरिएको थियो । मोटरसाइकल, बस, ट्र्याक्टर, टेम्पो, कार तथा टिप्परहरु गरी ७० वटा सवारी साधनमा ‘म जिम्मेवार चालक’ लेखिएको स्टिकर टाँस्नुका साथै पम्प्लेट वितरण गरिएको न्यौपानेले बताए ।

उनले अभियान शुभारम्भ गर्नुभन्दा एक दिन अघि ट्राफिक नियम पालना र सचेतनाका लागि चोक–चोकमा माइकिङ समेत गरिएको जानकारी दिए ।

सवारीको चाप बढेको छ, दुर्घटना पनि बढ्दै गएका छन । यसको न्यूनीकरणका लागि सवारी चालकले अनिवार्य ट्राफिक नियम पालना गरौँ भन्ने सन्देश दिन यो अभियान थालेका हौँ,’ उनले बताए।

सवारी साधन चालकले आफू जिम्मेवार बनी सवारी चलाएमा दुर्घटना धेरै हदसम्म न्यूनीकरण हुन सक्ने उनको भनाइ छ । चालकको सानो लापरवाहीले ठूलो दुर्घटना निम्त्याउने भएकाले सचेत र जिम्मेवार भएर सवारी चलाउनुपर्नेमा उनले जोड दिए।

यसैगरी ट्राफिक प्रहरीले तौलिहवाका विभिन्न चोकमा पुगेर हेल्मेट प्रयोग गर्ने, मोटरसाइकल चालक र पछाडि बस्ने दुबैजनाले हेल्मेट लगाउने, सिटबेल्ट बाँध्ने तथा मादक पदार्थ सेवन गरी सवारीसाधन नचलाउन लगायतका सचेतनामूलक सन्देश दिएको थिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ