नेपालगञ्ज । पाँचबुँदे सार्वजनिक प्रतिबद्धताका साथ जानकी गाउँपालिकाले सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ ।
जानकी गाउँपालिकाको आयोजना तथा बास नेपालको सहजीकरणमा जानकी गाउँपालिकाको परिसरमा आयोजित गाउँपालिकाले आर्थिक वर्षको दोश्रो चौमासिक भित्र प्रदान गरेका सेवा सुविधाको प्रभावकारिताको विषयमा गरिएको सार्वजनिक सुनुवाई कार्यक्रममा उक्त प्रतिबद्धता व्यक्त गरिएको हो ।
प्रस्तुत प्रतिवद्धताहरुमा शैक्षिक अनुदान तथा शैक्षिक सुधारका कार्यक्रमलाई थप व्यवस्थित र पारदर्शी बनाउँदै लैजाने, पालिकाको स्थानीय पाठ्यक्रममा स्थानीय भाषा समावेश गर्ने, जानकी गाउँपालिका वडा नम्वर ३ मा रहेको गौशालालाई व्यवस्थित गर्दै लैजाने, वडा नम्बर ३ वन्जाडे गाउँमा कृषि सिचाईका लागि विद्युत पोल राख्नका लागि प्राप्त भएको निवेदन उपर हालसम्म कार्बाही नभएको पाइएकाले आवश्यकताको आधारमा बैशाख मसान्तसम्म पोल जडानको पहल गर्ने, नम्वर ४ मा देखिएको खानेपानी समस्या समाधानका लागी कार्यविधि अनुरूप स्थानीयहरुको निवेदन पेश भई आएमा समाधान गर्ने, पालिकामार्फत सञ्चालन हुने लक्षित वर्ग उत्थान कार्यक्रमलाई पारदर्शिता र जवाफदेहिता अभिवृद्धि गर्ने तथा आगामी आवमा आवश्यकताअनुसार लक्षित वर्ग उत्थानमा बजेट बढाउँदै लैजाने लगायतका रहेका छन् ।
करिब घण्टासम्म चलेको खुल्ला छलफलको प्रमुख सरोकारवाला व्यक्तिको रुपमा जानकी गाउँपालिकाका अध्यक्ष छब्बन खाँ रहेका थिए भने सरोकारवाला व्यक्तिको रुपमां जानकी गाउँपालिकाका उपाध्यक्ष रामप्यारी यादव, प्रमुख प्रशासकीय अधिकृत परशुराम उपाध्यायका साथै वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु र शाखा प्रमुखहरु रहेका थिए ।
खुल्ला छलफलमा सहभागीहरुको तर्फबाट अनिल मिश्रा, रसिद अहमद राई, राजन बर्मा, मोहन बिष्ट, कमलेश कुमार मिश्र, रामानन्द तमोली, धर्म गोडिया लगायतले समग्र पालिका भित्र रहेका बिकास निर्माणमा दिलासुस्ती, शिक्षा सवास्थ्य लगायतमा समस्यादेखि लक्षित वर्ग उत्थान कार्यक्रम समेत प्रभावकारी रुपमा सञ्चालन हुन नसकेको विषयमा असन्तुष्टिहरु व्यक्त गरेका थिए ।
जानकी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत परशुराम उपाध्यायले पालिकाले सम्पन्न गरेको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए भने कार्यक्रममा स्वागत मन्तव्यका साथै नागरिक प्रतिवेदन र बहिर्गमन प्रतिवेदन प्रस्तुत बास नेपालका कार्यक्रम प्रबन्धक मन भण्डारीले गरेका थिए ।
बास नेपालका निर्देशक हेमराज भट्टले साझा सार्वजनिक प्रतिबद्धता प्रस्तुत गरेका थिए भने बास नेपालका केन्द्रीय अध्यक्ष शिव कुमार बर्माले उक्त कार्यक्रमको सहजीकरण गरेका थिए ।
तपाईको प्रतिक्रिया