काठमाडौं । जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको अवसरमा प्रधानमन्त्री बालेन शाहले समानता, सम्मान र मानवीय मर्यादामा आधारित समाज निर्माणका लागि सबै नागरिकको सक्रिय भूमिका आवश्यक रहेको बताएका छन्।
बिहीबार जारी शुभकामना सन्देशमा प्रधानमन्त्री शाहले जातीय विभेद र छुवाछूतजस्ता सामाजिक विकृतिविरुद्ध सचेत र जिम्मेवार वातावरण निर्माण गर्नु समयको आवश्यकता भएको उल्लेख गरेका छन्।
उनले २०६३ साल जेठ २१ गते नेपाललाई जातीय छुवाछूतमुक्त राष्ट्र घोषणा गरिएको ऐतिहासिक निर्णयले सामाजिक न्याय र समानताको दिशामा महत्वपूर्ण आधार तयार गरेको स्मरण गरे। त्यस निर्णयको भावनाअनुसार समतामूलक समाज निर्माणको अभियानलाई अझ सशक्त बनाउनुपर्नेमा उनले जोड दिएका छन्।
प्रधानमन्त्री शाहले दलित समुदायले देशको सामाजिक, सांस्कृतिक तथा आर्थिक विकासमा पुर्याएको योगदानको प्रशंसा गर्दै उनीहरूको भूमिका राष्ट्र निर्माणका लागि महत्वपूर्ण रहेको बताएका छन्।
शुभकामना सन्देशमा उनले संविधानले सबै नागरिकलाई सम्मानपूर्वक बाँच्न पाउने अधिकार सुनिश्चित गरेको र जातीय भेदभावलाई कानुनी अपराधका रूपमा परिभाषित गरेको उल्लेख गरे। तर, कानुनको व्यवस्था मात्र पर्याप्त नभएको भन्दै सामाजिक चेतना, व्यवहार र संस्कारमा परिवर्तन आउनु अपरिहार्य रहेको उनको भनाइ छ।
प्रधानमन्त्री शाहका अनुसार सरकार संविधानले सुनिश्चित गरेका समानता, सामाजिक न्याय र समावेशी विकासका लक्ष्य कार्यान्वयन गर्न प्रतिबद्ध छ। साथै दलित समुदायका परम्परागत सीप, रोजगारीका अवसर र प्रविधिमैत्री विकासलाई प्राथमिकतामा राखेर विभिन्न कार्यक्रम अघि बढाइएको उनले जानकारी दिएका छन्।
जातीय विभेदरहित समाज निर्माणका लागि सबै नागरिकलाई एकताबद्ध भएर अघि बढ्न आह्वान गर्दै प्रधानमन्त्री शाहले राष्ट्रिय दिवसले सामाजिक सद्भाव, सहअस्तित्व र पारस्परिक सम्मानको संस्कृतिलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरेका छन्।
तपाईको प्रतिक्रिया