घुस प्रकरणमा मधेश प्रदेशका सांसद सरोज सिंह दोषी ठहर, चार वर्ष एक महिना कैद

समाचार

काठमाडौं । विकास योजनाको बजेट विनियोजनमा अनियमितता गरी घुस लिएको अभियोगमा मधेश प्रदेशसभा सदस्य सरोजकुमार सिंह दोषी ठहर भएका छन्। विशेष अदालतले भ्रष्टाचारसम्बन्धी मुद्दामा दोषी ठहर गर्दै उनलाई चार वर्ष एक महिना कैद तथा ३८ लाख ५० हजार रुपैयाँ जरिवाना गर्ने फैसला सुनाएको छ।

विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्यद्वय उमेश कोइराला र विदुरप्रसाद कोइरालाको इजलासले केही साताअघि नै सिंहलाई दोषी ठहर गरेको थियो। त्यसपछि भएको सजाय निर्धारण सुनुवाइमा अदालतले कैद र जरिवानासम्बन्धी अन्तिम निर्णय गरेको हो।

अदालतले सिंहले प्राप्त गरेको भनिएको ३८ लाख ५० हजार रुपैयाँ जफत गर्न आदेश दिएको छ। साथै पीडित राहत कोषका लागि अतिरिक्त १ लाख ५४ हजार रुपैयाँ क्षतिपूर्ति शुल्कसमेत असुल गर्नुपर्ने निर्णय गरिएको छ।

बजेट विनियोजनमा कमिसन लिएको आरोप

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेश सांसद सिंहमाथि विभिन्न उपभोक्ता समितिमार्फत सञ्चालन भएका योजनाहरूमा बजेट उपलब्ध गराइदिने नाममा रकम असुल गरेको आरोप लगाएको थियो। अनुसन्धानका क्रममा केही उपभोक्ता समितिबाट रकम सोझै उनको खातामा जम्मा भएको विवरण फेला परेको अख्तियारको दाबी थियो।

मन्दिर निर्माण, धर्मशाला, सडक मर्मत तथा स्वास्थ्य पूर्वाधारसम्बन्धी योजनाहरूमा विनियोजित बजेटबाट निश्चित प्रतिशत रकम कमिसनका रूपमा लिएको आरोपसहित अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको थियो।

अनुसन्धानका क्रममा सांसद सिंह र उनका स्वकीय सचिव विनोदकुमार लाल कायस्थसँग सम्बन्धित बैंक कारोबार, भौचर तथा वित्तीय विवरणहरूको अध्ययन गरिएको थियो। वित्तीय कारोबारमा अस्वाभाविक रकमको आवागमन देखिएपछि विस्तृत अनुसन्धान अघि बढाइएको अख्तियारको भनाइ थियो।

विशेष अदालतको फैसलासँगै सिंहमाथि लागेको भ्रष्टाचारसम्बन्धी मुद्दामा दोषी ठहर भई कैद तथा आर्थिक दण्डको निर्णय भएको छ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ