सप्तरी । उच्च अदालत जनकपुरको राजविराज इजलासले करारमा कार्यरत कर्मचारीलाई पदमुक्त गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न बोदेबरसाईन नगरपालिकाका नाममा अन्तरिम आदेश जारी गरेको छ।
न्यायाधीशद्वय देवबहादुर सार्की र नरेशकुमार चौधरीको संयुक्त इजलासले करार अवधि कायम रहुञ्जेल सम्बन्धित कर्मचारीलाई काम गर्नबाट रोक्न नपाइने आदेश दिएको हो।
अदालतले जारी गरेको आदेशमा करार सम्झौताअनुसारको जिम्मेवारी निर्वाह गर्न कुनै प्रकारको अवरोध सिर्जना नगर्न तथा सम्झौतामा उल्लेख भएअनुसारका सेवा–सुविधा उपलब्ध गराउन नगरपालिकालाई निर्देशन दिएको छ।
नगरपालिकाले करार अवधि समाप्त हुनुअघि ब्याक हो लोडर सहायक पदमा कार्यरत विवेककुमार यादवलाई सेवाबाट हटाएको थियो। त्यसविरुद्ध यादवले अदालतमा रिट निवेदन दायर गरेका थिए।
यसअघि जारी गरिएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिँदै इजलासले पूर्ण अन्तरिम आदेश जारी गरेको हो। अदालतको आदेशसँगै यादवले करार अवधिसम्म आफ्नो जिम्मेवारीमा निरन्तर काम गर्न पाउने भएका छन्।
तपाईको प्रतिक्रिया