काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पाँचदिने भारत भ्रमण सम्पन्न गरी शुक्रबार स्वदेश फर्किएका छन्। भारतको सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) को निमन्त्रणामा भएको भ्रमणलाई उनले नेपाल–भारत सम्बन्धलाई नयाँ ढंगले अघि बढाउने अवसरका रूपमा व्याख्या गरेका छन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले नयाँ सरकार गठनपछि छिमेकी मुलुकसँग सहकार्यका प्राथमिकता तय गर्ने विषयमा सार्थक संवाद भएको बताए। व्यापार, लगानी, विकास साझेदारी र दुई देशबीचको परम्परागत सम्बन्धलाई कसरी थप प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा छलफल केन्द्रित रहेको उनको भनाइ थियो।
भ्रमणलाई लिएर विभिन्न अड्कलबाजी भइरहेका बेला उनले सबै भेटघाट र संवाद पारदर्शी ढंगले भएको स्पष्ट पारे। नेपाल–भारत सम्बन्धलाई स्पष्ट उद्देश्य र दीर्घकालीन दृष्टिकोणका साथ अघि बढाउने प्रयासको रूपमा आफूले भ्रमणलाई लिएको उनले बताए।
सीमा विवादबारे सञ्चारकर्मीले राखेको जिज्ञासामा लामिछानेले यस्ता संवेदनशील विषय कूटनीतिक माध्यमबाट नै समाधान खोजिनुपर्ने धारणा व्यक्त गरे। राष्ट्रिय हितका विषयमा सार्वजनिक बहसभन्दा पनि संस्थागत संवाद र चरणबद्ध पहल प्रभावकारी हुने उनको तर्क थियो।
देशको राजनीतिक अवस्थाबारे बोल्दै उनले आफ्नो पार्टी स्थिर सरकार र राजनीतिक स्थायित्वको पक्षमा रहेको दोहोर्याए। निर्वाचनका क्रममा जनतासमक्ष गरिएको प्रतिबद्धताप्रति रास्वपा अडिग रहेको उनको भनाइ थियो।
प्रधानमन्त्री बालेन शाहको अभिव्यक्तिलाई लिएर उठेको विवादबारे प्रतिक्रिया दिँदै लामिछानेले परराष्ट्र मन्त्रालयले जारी गरेको आधिकारिक धारणा नै सरकारको औपचारिक दृष्टिकोण भएको बताए। परराष्ट्र नीतिसम्बन्धी विषय कुनै एक दलको नभई राष्ट्रको साझा सरोकार भएको उनको भनाइ थियो।
भारत भ्रमणका क्रममा लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री एस. जयशङ्कर, गृहमन्त्री अमित शाह तथा भाजपा नेतृत्वसँग भेटवार्ता गरेका थिए। साथै उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसिया मामिला हेर्ने विशेष दूत सर्जियो गोरसँग पनि भेट गरेको जानकारी दिइएको छ।
भ्रमण टोलीमा रास्वपाका केही सांसद तथा पार्टीका अन्य प्रतिनिधिहरू समेत सहभागी थिए।
तपाईको प्रतिक्रिया