काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को मधेश प्रदेशमा जारी वडा तथा पालिका अधिवेशनका क्रममा व्यापक विवाद उत्पन्न भएको छ। अधिवेशन प्रक्रियामा पार्टी विधानविपरीत प्रतिनिधि चयन र नेतृत्व गठन गरिएको आरोपसहित केन्द्रीय अनुशासन आयोगमा विभिन्न उजुरी दर्ता भएका छन्।
पार्टी स्रोतका अनुसार तल्लो तहका अधिवेशनमध्ये सबैभन्दा धेरै गुनासा मधेश प्रदेशबाट प्राप्त भएका छन्। उजुरीमाथि छानबिन र निर्णय नभएसम्म विवादित स्थानका अधिवेशन स्थगित गर्न निर्वाचन समितिले निर्देशन दिएको छ।
निर्वाचन समितिका अनुसार मधेशका आठ जिल्लामध्ये पाँच जिल्लामा अधिवेशन प्रक्रिया विवादमा परेको छ। विशेषगरी सप्तरी र सिरहाका धेरै वडा तथा पालिका तहका अधिवेशन अनिश्चितकालका लागि रोकिएका छन्।
महोत्तरी, धनुषा र सर्लाहीका विभिन्न स्थानीय तहमा समेत नेतृत्व चयन प्रक्रियालाई लिएर विवाद देखिएको छ। धनुषाको गणेशमान चारनाथ नगरपालिकामा दुई समूहले छुट्टाछुट्टै अधिवेशन गरेपछि विवाद चर्किएको छ। असन्तुष्ट पक्षले जनकपुरधामस्थित जिल्ला पार्टी कार्यालयमा तालाबन्दी समेत गरेको छ।
जनकपुर उपमहानगरपालिकाको अधिवेशनलाई लिएर पनि असन्तुष्टि बढेको छ। पार्टी विधानअनुसार आवश्यक प्रतिनिधित्व सुनिश्चित नगरी सीमित वडा सभापतिहरूको सहभागितामा नेतृत्व चयन गरिएको आरोप लगाइएको छ। उक्त प्रक्रियाबाट निर्वाचित नेतृत्वलाई असन्तुष्ट पक्षले स्वीकार गर्न अस्वीकार गरेको छ।
पार्टी विधानअनुसार पालिका अधिवेशनमा पालिका समिति, वडा समिति, सल्लाहकार परिषद्, विभाग तथा सम्बन्धित तहका प्रतिनिधिहरूको सहभागिता अनिवार्य हुने व्यवस्था रहेको छ। तर कतिपय स्थानमा यो प्रक्रिया पालना नभएको भन्दै उजुरी परेको हो।
पार्टीभित्र नेतृत्व चयनमा प्रभाव जमाउन केही सांसद र केन्द्रीय तहका नेताहरू सक्रिय रहेको आरोप पनि उठेको छ। आफ्ना निकट व्यक्तिलाई नेतृत्वमा पुर्याउने प्रयासले विवाद बढेको भन्दै केही नेताहरूले चिन्ता व्यक्त गरेका छन्।
मधेश संगठन विभागले केही स्थानमा अधिवेशन प्रक्रियाबारे गम्भीर गुनासा आएको स्वीकार गरेको छ। निर्वाचन समितिले विवादित स्थानमा गरिएका निर्णयलाई मान्यता नदिने चेतावनीसमेत दिएको छ।
पार्टी नेतृत्वका अनुसार सभापति रवि लामिछाने स्वदेश फर्किएपछि मधेश प्रदेशका विवादित अधिवेशनबारे थप निर्णय हुन सक्छ। पार्टीभित्र बढ्दो विवाद समाधान गर्दै विधानअनुसार अधिवेशन सम्पन्न गराउने विषयमा केन्द्रले नयाँ रणनीति बनाउने तयारी गरेको बताइएको छ।
तपाईको प्रतिक्रिया