तराई–मधेशमा विद्युत् संकट गहिरिँदै, जन अधिकार पार्टीले प्राधिकरणमा बुझायो ज्ञापन

समाचार

काठमाडौं । तराई–मधेशमा तीव्र गर्मी र विद्युत् आपूर्तिको समस्या बढ्दै गएको भन्दै जन अधिकार पार्टीले सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ ।

जन अधिकार पार्टीका अध्यक्ष डा. शरद सिंह यादवले नेपाल विद्युत प्राधिकरणका महाप्रबन्धकलाई ज्ञापनपत्र बुझाउँदै तराई–मधेसका जिल्लाहरूमा भइरहेको अनियमित विद्युत् आपूर्तिले जनजीवन अत्यन्तै कष्टकर बनेको बताएका छन् ।

उनका अनुसार हाल ४२ डिग्री सेल्सियस वा सोभन्दा बढी तापक्रम पुगेको अवस्थामा समेत नियमित विद्युत् आपूर्ति नहुँदा बालबालिका, वृद्धवृद्धा र बिरामीहरू सबैभन्दा बढी प्रभावित भएका छन् ।

ज्ञापनपत्रमा प्राधिकरणका कर्मचारीहरूको व्यवहार र सेवा प्रवाहसमेत प्रभावकारी नभएको भन्दै गुनासो गरिएको छ । विद्युत् बिना दैनिक जीवन झनै कठिन बनेको उल्लेख गर्दै सरकारले विद्युत् उपभोगलाई प्रोत्साहन गरिरहेको अवस्थामा आपूर्ति नै असहज हुनु विरोधाभासपूर्ण भएको पार्टीको भनाइ छ ।

पार्टीले विद्युत् आपूर्तिमा भएको अव्यवस्था तथा सम्भावित जनधन क्षतिलाई विपद्को रूपमा मानेर आवश्यक राहत तथा क्षतिपूर्ति व्यवस्था गर्न पनि माग गरेको छ ।

ज्ञापनपत्र बुझाउने क्रममा जन अधिकार पार्टीका अध्यक्ष डा.यादवले तराई–मधेश क्षेत्रमा तत्काल प्रभावकारी विद्युत् व्यवस्थापन गर्न सरकार र सम्बन्धित निकायलाई आग्रह गरेका छन् ।

पार्टीले यस समस्यालाई गम्भीर रूपमा लिएर दीर्घकालीन समाधान खोज्न पनि सरकारसँग अपिल गरेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ