प्रदेशसभा खारेज प्रस्ताव रास्वपाको ठूलो भूल हुनसक्छ : डा. बाबुराम भट्टराई

समाचार

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सम्भावित नीतिगत निर्णयप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्। उनले प्रदेशसभा खारेज गर्ने वा संघीय संरचना कमजोर बनाउने किसिमको निर्णय भए त्यो देशका लागि ठूलो भूल हुने बताएका छन्।

उनका अनुसार, एकातर्फ सरकारकै नेतृत्वमा संविधान संशोधनबारे अध्ययन गर्न कार्यदल गठन गर्ने र अर्कोतर्फ एकल निर्णय अरू राजनीतिक दल तथा समुदायमाथि थोपर्ने प्रयासले व्यापक अविश्वास सिर्जना गर्न सक्छ। यस्तो कदमले राजनीतिक दलहरू, विभिन्न जातीय समूह र आम नागरिकबीच दूरी बढाउने खतरा रहेको उनले औंल्याएका छन्।

भट्टराईले नेपालको जस्तो बहुजातीय, बहुभाषिक र क्षेत्रीय विविधता भएको मुलुकमा लामो संघर्षपछि स्थापित संघीय संरचनालाई कमजोर बनाउने प्रयासले गम्भीर सामाजिक तथा क्षेत्रीय द्वन्द निम्त्याउन सक्ने चेतावनी दिएका छन्। उनले संघीय प्रणाली विघटनतर्फ कुनै पनि कदमले देशमा अस्थिरता र अशान्ति निम्त्याउन सक्ने बताएका छन्।

उनले संविधान संशोधनजस्तो संवेदनशील विषयमा अधिकतम राष्ट्रिय सहमति आवश्यक रहेको उल्लेख गर्दै त्यसबिना हतारमा निर्णय लिन नहुने धारणा राखेका छन्। भट्टराईले वर्तमान अवस्थामा राजनीतिक बहसभन्दा पनि सुशासन र विकासमा ध्यान केन्द्रित गर्नु उपयुक्त हुने सुझाव दिएका छन्।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ