काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनबाट ‘प्रदेश सभा खारेजी’ सम्बन्धी प्रस्ताव पारित भएको विषयप्रति राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले आपत्ति जनाएका छन्।
महतोले उक्त एजेण्डालाई जनमतविपरीत कदम भएको टिप्पणी गर्दै संघीय व्यवस्थामाथि नै प्रश्न उठाउने प्रयास भएको बताएका छन्। उनका अनुसार नेपालमा संघीयता कुनै राजनीतिक दलको उपहार नभई विभिन्न आन्दोलन र संघर्षबाट स्थापित व्यवस्था हो।
उनले मधेश, थरुहट तथा आदिवासी जनजाति आन्दोलनको बलिदानबाट प्राप्त संघीय संरचनालाई कमजोर पार्ने प्रयासप्रति असन्तुष्टि व्यक्त गरे। साथै, चुनावी प्रतिबद्धता र वर्तमान एजेण्डाबीच विरोधाभास देखिएको उल्लेख गर्दै जनतासँग गरिएको वाचा उल्लंघन भएको दाबी गरे।
महतोले निर्वाचनका समयमा संघीयतालाई अझ सुदृढ बनाउने प्रतिबद्धता गरिएको स्मरण गराउँदै अहिले प्रदेश सभा खारेजीको प्रस्ताव ल्याउनु राजनीतिक असंगति भएको बताए। यसले संघीयताको पक्षमा मतदान गरेका मतदाताको भावनामा चोट पुगेको उनको भनाइ छ।
उनले देशको समस्या संघीयता नभई त्यसको अपूर्ण कार्यान्वयन भएको उल्लेख गर्दै संघीयतालाई अझ प्रभावकारी, अधिकारसम्पन्न र जनमुखी बनाउनुपर्नेमा जोड दिए।
राष्ट्रिय मुक्ति पार्टी नेपालले सरकार र रास्वपालाई जनतासँग गरिएका प्रतिबद्धताप्रति जिम्मेवार बन्न र संघीय संरचनालाई बलियो बनाउने दिशामा अघि बढ्न आग्रह गरेको छ।
तपाईको प्रतिक्रिया