OBC अधिकारका लागि आन्दोलन चर्काउने तयारी, महासंघको रणनीति बैठक सम्पन्न

समाचार

काठमाडौं । पिछडावर्ग (OBC) का अधिकार र पहिचानका विषयमा संघर्षरत राष्ट्रिय पिछडावर्ग महासंघले आफ्नो आन्दोलनलाई थप सशक्त बनाउने तयारी गरेको छ।

आइतबार काठमाडौंको शान्तिनगरमा महासंघका अध्यक्ष कौशल कुमार सिंहको अध्यक्षतामा बसेको बैठकले OBC समुदायका मागलाई राज्यबाट कसरी सम्बोधन गराउने भन्ने विषयमा गम्भीर छलफल गरेको महासचिव सिएन खड्गाले जानकारी दिए।

बैठकमा महासंघका पदाधिकारी, विभिन्न जातीय संगठनका प्रतिनिधि, साथै OBC समुदायका बुद्धिजीवी, प्राध्यापक, कानुनविद्, व्यवसायी र युवाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

छलफलका क्रममा पिछडावर्गका अधिकारका लागि भएका विगतका संघर्ष र उपलब्धिको समीक्षा गरिएको थियो भने आगामी कार्यदिशा र चुनौतीबारे पनि विस्तृत रूपमा विचार विमर्श गरिएको महासचिव खड्गाले बताए। उनले OBC आन्दोलनलाई प्रभावकारी रूपमा अघि बढाउन विभिन्न समिति गठन गर्ने सहमति भएको जानकारी दिए।

यस विषयमा आवश्यक गृहकार्य पूरा गरी यही साता पुनः बैठक बसेर थप निर्णय गर्ने तयारी समेत गरिएको उनले बताए।

राष्ट्रिय समावेशी आयोगको निर्णयअनुसार पिछडावर्ग (OBC) अन्तर्गत कुशवाहा, कुर्मी, कुम्हार, कहार, केवट, कानु, कलवार, तेली, नुनिया, बनियाँ, बढई, भेडिहर, माली, मल्लाह, यादव, राजभर, राजधोव, रौनियार, लोहार, लोध, सुडी, सोनार, हजाम, हलुवाई, अमात, केवरत, सैनी, बिन, जोगिया, लहेरा/लहेरी, बेल्दार, नट/नटवा, कलाबाज, कथबनिया, अरख, भुर्जी, राजी, खैराह/गुज्जर, पटवा, चनऊ, कलाल, बरई, वोट, कशेरा/कशेरी, पटनवार, कमकर, कसोधन, मंगता/महाउत, चौहान, चाई लगायतका जातिहरू समावेश रहेका छन्।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ