सुनसरी–४ मा मोबाइल तथा इन्टरनेट सेवा सुधार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण
समाचार
काठमाडौं । प्रतिनिधिसभा सदस्य इन्जिनियर दीपक कुमार साहले सुनसरी निर्वाचन क्षेत्र नं. ४ मा गुणस्तरीय मोबाइल तथा इन्टरनेट सेवा सुनिश्चित गर्न सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाको ध्यानाकर्षण गराएका छन्।
शुक्रबार मन्त्रालयलाई पत्र पठाउँदै सांसद साहले नेपालको संविधानले प्रत्याभूत गरेको सञ्चारको हक र सूचनाको हकको प्रभावकारी कार्यान्वयनका लागि नागरिकले भरपर्दो दूरसञ्चार सेवा पाउनुपर्ने उल्लेख गरेका छन्।
उनले सुनसरी–४ का विभिन्न स्थानमा नेपाल टेलिकम (NTC) र एनसेल (Ncell) को मोबाइल तथा इन्टरनेट सेवा कमजोर रहेको भन्दै त्यसले स्थानीय बासिन्दालाई दैनिक जीवन, शिक्षा, स्वास्थ्य, व्यवसाय तथा सरकारी सेवा प्रवाहमा समस्या भइरहेको बताएका छन्।
पत्रमा प्रभावित क्षेत्रहरूको तत्काल प्राविधिक अध्ययन गरी आवश्यक स्थानमा नयाँ BTS/टावर स्थापना, विद्यमान पूर्वाधारको स्तरोन्नति, क्षमता विस्तार तथा सेवा गुणस्तर सुधारका लागि सम्बन्धित निकायसँग समन्वय गरी शीघ्र कार्यान्वयन गर्न आग्रह गरिएको छ।
सांसद साहले नेपाल सरकारको Digital Nepal Framework अनुरूप नागरिकलाई भरपर्दो दूरसञ्चार सेवा उपलब्ध गराउन तथा यस सम्बन्धमा भएका प्रगतिबारे जानकारी गराउन पनि सञ्चार मन्त्रालयसँग अनुरोध गरेका छन्।
उक्त पत्रसँगै नेटवर्क सेवा समस्या रहेका स्थानहरूको विवरणसमेत संलग्न गरिएको जनाइएको छ।
तपाईको प्रतिक्रिया