काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता सर्वेन्द्रनाथ शुक्लाले सरकारको सय दिनको कार्यसम्पादनबारे प्रतिक्रिया जनाउँदै जनतामा आशा त जागेको भए पनि भरोसा गर्ने बलियो आधार अझै निर्माण हुन बाँकी रहेको बताएका छन्।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै नेता शुक्लाले सरकारको सय दिनलाई प्रारम्भिक उपलब्धिका रूपमा मूल्याङ्कन गर्न सकिने भए पनि त्यसलाई परिणाममुखी बनाउन ठोस काम आवश्यक रहेको उल्लेख गरेका छन्।
उनले जनताले सरकारबाट सुशासन, प्रभावकारी सेवा प्रवाह, आर्थिक सुधार, रोजगारी सिर्जना तथा विकास निर्माणमा देखिने परिणामको अपेक्षा गरेको उल्लेख गर्दै ती क्षेत्रमा स्पष्ट उपलब्धि हासिल गर्न सरकार अझै सक्रिय हुनुपर्ने धारणा राखेका छन्।
शुक्लाले सरकारप्रति जनतामा आशाको वातावरण बनेको स्वीकार गर्दै त्यसलाई दीर्घकालीन विश्वासमा रूपान्तरण गर्न पारदर्शिता, जवाफदेहिता र प्रभावकारी कार्यसम्पादन अपरिहार्य रहेको बताएका छन्।
उनको भनाइमा, सरकारको सय दिनले सकारात्मक सन्देश दिएको भए पनि जनविश्वास मजबुत बनाउन आगामी दिनमा वाचा अनुरूपका काम र परिणाम देखिनु आवश्यक छ।
तपाईको प्रतिक्रिया