वीरगञ्ज । मधेश प्रदेशको प्रमुख धार्मिक आस्थाको केन्द्र गहवा माई मन्दिरमा आयोजना हुने चौथो विशाल रथयात्रा तथा धार्मिक महोत्सव–२०८३ को सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ।
गहवा माई तीर्थ क्षेत्र विकास समितिले आइतबार वीरगञ्जमा पत्रकार सम्मेलन गरी रथयात्रा र धार्मिक महोत्सवका कार्यक्रम सार्वजनिक गर्दै श्रद्धालुलाई उत्साहका साथ सहभागी हुन आग्रह गरेको हो।
समितिका अनुसार असार ३२ गते बिहान ७ः३० बजे मन्दिर परिसरमा विशेष पूजा–अर्चना सम्पन्न भएपछि भव्य रथयात्रा सुरु हुनेछ। यस वर्ष रथयात्राको विशेष आकर्षणका रूपमा हेलिकोप्टरमार्फत पुष्पवृष्टि गर्ने कार्यक्रम पनि समावेश गरिएको छ।
सोही दिन साँझ ६ बजेदेखि मन्दिर प्राङ्गणमा भजन–कीर्तनसहित सांस्कृतिक कार्यक्रम आयोजना गरिनेछ। त्यसपछि श्रावण १ गते बिहान ५ बजे ५६ भोग पूजा गरिने र दिउँसो ४ बजेदेखि श्रद्धालुहरूलाई महाप्रसाद वितरण गरिने कार्यक्रम तय गरिएको समितिले जानकारी दिएको छ।
आयोजकका अनुसार रथयात्रामा हजारौँ भक्तजनको सहभागिता हुने अनुमान गरिएको छ। त्यसलाई मध्यनजर गर्दै सुरक्षा, भीड व्यवस्थापन र अन्य आवश्यक प्रबन्ध मिलाइएको समितिको भनाइ छ।
समितिले धार्मिक तथा सामाजिक संघ–संस्था, व्यावसायिक समुदाय, सञ्चारकर्मी, बुद्धिजीवी तथा सर्वसाधारणलाई रथयात्रा र धार्मिक महोत्सवमा सहभागी भई कार्यक्रमलाई सफल बनाउन अनुरोध गरेको छ।
तपाईको प्रतिक्रिया