गणेश नेपालीको आत्मदाहलाई राज्यविरुद्धको प्रतिरोधको रूपमा व्याख्या गर्दै ६ बुँदे प्रस्ताव

समाचार

काठमाडौँ । जेनजी अभियन्ता मिराज ढुङ्गानाले महानगर प्रहरीसँगको विवादपछि आत्मदाह गरेका गणेश नेपालीलाई शहीद घोषणा गर्न सरकारसँग माग गरेका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमार्फत ६ बुँदे धारणा सार्वजनिक गर्दै उक्त माग अघि सारेका हुन्।

ढुङ्गानाले गणेश नेपालीको घटनालाई सामान्य आत्महत्या नभई राज्यको नीतिप्रति गरिएको प्रतिरोधको स्वरूप भएको दाबी गरेका छन्। उनका अनुसार शरीरमा पेट्रोल छर्केर जीवन त्याग गर्ने निर्णय व्यक्तिगत घटनाभन्दा पनि राज्य र समाजलाई सन्देश दिने राजनीतिक तथा सामाजिक अभिव्यक्ति हो।

उनले गणेश नेपालीको आत्मदाहलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले प्रस्ताव गरेको ट्राफिक जरिवानासम्बन्धी व्यवस्थाप्रतिको असन्तुष्टिको चरम अभिव्यक्तिका रूपमा व्याख्या गरेका छन्। नागरिकको आर्थिक अवस्था र जनभावनालाई पर्याप्त ध्यान नदिई नीति ल्याइएकाले यस्तो अवस्था सिर्जना भएको उनको भनाइ छ।

ढुङ्गानाले सरकारले प्रस्तावित जरिवाना व्यवस्थामा पुनर्विचार गरी नागरिकमाथिको आर्थिक भार कम गर्नुपर्ने माग गरेका छन्। साथै, गणेश नेपालीलाई शहीद घोषणा गरेर राज्यले नागरिकको भावना र जनसरोकारप्रति संवेदनशील रहेको सन्देश दिन सक्ने उनको तर्क छ।

उनले भविष्यमा दण्ड र जरिवानासम्बन्धी नीति निर्माण गर्दा नागरिकको आर्थिक अवस्था र सामाजिक यथार्थलाई प्राथमिकतामा राख्नुपर्ने आवश्यकता पनि औँल्याएका छन्।

यद्यपि ढुङ्गानाले सबै आत्मदाहका घटनामा स्वतः शहीद घोषणा गर्नुपर्ने पक्षमा आफू नरहेको स्पष्ट पारेका छन्। उनका अनुसार राज्यको नीतिप्रतिको प्रतिरोधस्वरूप अन्तिम विकल्पका रूपमा आत्मदाह गरिएका घटनालाई भने सन्दर्भ र परिस्थितिका आधारमा छुट्टै मूल्याङ्कन गरिनुपर्ने धारणा रहेको छ।

गणेश नेपालीलाई शहीद घोषणा गर्ने विषयमा सरकारको आधिकारिक प्रतिक्रिया भने हालसम्म सार्वजनिक भएको छैन।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ