कमन जेन–जी नेपालद्वारा सरकारको कार्यशैलीको आलोचना, नागरिकमैत्री शासनको माग

समाचार

काठमाडौं । कमन जेन–जी नेपालले सरकारको १०० दिने कार्यकालप्रति असन्तुष्टि जनाउँदै वर्तमान कार्यशैलीलाई जनविरोधी र निरंकुश भएको आरोप लगाएको छ। संगठनले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै सरकारलाई नागरिकमैत्री नीति अवलम्बन गर्न आग्रह गर्दै माग सम्बोधन नभए देशव्यापी सडक आन्दोलन गर्ने चेतावनी दिएको हो।

संगठनले मुगुका गणेश नेपालीको आत्मदाह घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कारबाही, मृतकलाई उचित सम्मान तथा परिवारको दीर्घकालीन संरक्षणको व्यवस्था गर्न सरकारसँग माग गरेको छ।

विज्ञप्तिमा गृहमन्त्रीले संसदमा दिएको अभिव्यक्तिप्रति पनि असन्तुष्टि जनाइएको छ। स्थानीय सरकारसँग सम्बन्धित विषय भन्दै संघीय सरकारको जिम्मेवारीबाट पन्छिन खोजिएको टिप्पणी गैरजिम्मेवारपूर्ण रहेको संगठनको दाबी छ।

कमन जेन–जी नेपालका अध्यक्ष विकेश साह, महासचिव रोनिश साह तथा इन्चार्ज कृष्णमोहन सहनीद्वारा संयुक्त रूपमा हस्ताक्षर गरिएको विज्ञप्तिमा सरकारले नागरिकको विश्वास कायम राख्ने गरी शासन सञ्चालन गर्नुपर्ने उल्लेख गरिएको छ।

संगठनले वर्तमान सरकारको १०० दिनको अवधिमा जनताको पक्षमा प्रभावकारी उपलब्धि हासिल हुन नसकेको दाबी गर्दै सुकुम्बासी बस्तीमा डोजर प्रयोग, सार्वजनिक निकायका पदाधिकारीलाई हटाउने निर्णय, कर्मचारीमाथि दबाब तथा प्रशासनिक हस्तक्षेपजस्ता गतिविधिप्रति आपत्ति जनाएको छ।

त्यस्तै, बजेट तथा नीति कार्यक्रममा युवाको रोजगारी, आयआर्जन र आर्थिक अवसर विस्तारका लागि पर्याप्त योजना नल्याइएको तथा सवारी नियम उल्लङ्घनमा प्रस्ताव गरिएको उच्च जरिवानाले नागरिकमाथि थप आर्थिक भार पर्ने संगठनको भनाइ छ।

विज्ञप्तिमा प्रधानमन्त्री वालेन शाहले दिएको भनिएको सीमासम्बन्धी अभिव्यक्ति र त्यस विषयमा संसदमा स्पष्ट जवाफ नदिएको आरोप पनि लगाइएको छ। साथै, बहालवाला तथा पूर्वपदाधिकारीहरूको सम्पत्ति विवरणसम्बन्धी संवैधानिक व्यवस्थालाई कमजोर पार्ने प्रयास भइरहेको भन्दै संगठनले त्यसप्रति पनि आपत्ति जनाएको छ।

कमन जेन–जी नेपालले सरकारले जनभावना अनुरूप नीति र कार्यशैली सुधार नगरे देशभर शान्तिपूर्ण सडक आन्दोलनका कार्यक्रम घोषणा गरिने चेतावनी दिएको छ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ