काठमाडौं । आम जनता पार्टी (आजपा)ले वर्तमान सरकार चौतर्फी असफल भएको निश्कर्ष निकालेको छ । राजनीतिक अस्थिरतालाई चिर्दै नेपाली जनताले रास्वपालाई झण्डै दुई तिहाईको जनमत दिँदापनि सरकारले दुई तिहाईको चमत्कार देखाउन सकेन र उल्टै जनतामा चरम निराशा थुपार्ने काम गरेको आजपाको ठहर छ ।
आर्थिक वर्ष २०८२/०८३ को बजेट कार्यान्वयनको समीक्षा गर्दै आजपाले नयाँ आर्थिक वर्षको पहिलो दिन यस्तो निश्कर्ष साझा गरेको हो । आजपाको तर्फबाट प्रवक्ता सुभाषप्रसाद साहले एक विज्ञप्ति जारी गर्दै वर्तमान सरकारले देशलाई विकास र निकास दिन असफल भएको निश्कर्ष सुनाएका हुन् ।
बिकास बजेट जम्मा ४६% खर्च र राजस्व संकलन जम्मा ८४%, भएको, वैदेशिक अनुदान सहायता ५८% मात्र प्राप्त भएको तथा ऋण करिब ३ खर्ब रुपैयाँभन्दा बढी थपिएको अर्थात् वित्तीय कार्यसम्पादनको हिसाबले यो वर्ष इतिहासकै अहिलेसम्मको सबैभन्दा खराब (Worst) वर्ष साबित भएको आजपाको दाबी छ ।
शक्तिशाली सरकार बन्दापनि बजार अनियन्त्रित बनेको र राज्यको लुटकारी चरित्र अझै उदांगो बनेको, उपभोक्ता चरम मूल्यवृद्धिको मारमा परेको र भान्सा महँगो बन्दा जनजीवन नै कठिन बनेको आजपाको निश्कर्ष छ ।
विधि मासेर बलपूर्वक शासन गर्ने शैलीको कारण वर्तमान सरकार बदनाम बनेको पनि उसको ठहर छ । २०८१ सालको फागुनदेखि नै नेपाल ग्रे–लिष्टमा रहेकोमा अहिले उक्त लिष्टबाट हट्नुको साटो उल्टै ब्ल्याक लिष्टमा पर्ने जोखिम बढेको छ । नेपालको अन्तर्राष्ट्रिय साख उकास्न सुशासन, वित्तीय अनुशासन र अन्तर्राष्ट्रिय मापदण्डको प्रभावकारी कार्यान्वयनमा वर्तमान सरकार पूर्ण रुपमा असफल हुँदा नेपाल एफएटिएफको ब्ल्याकलिष्टमा पर्न लागेको आजपाको ठम्याई छ ।
सरकारले अर्थतन्त्रमा ठोस नीतिगत सुधार गर्नुको साटो उल्टै समस्या थुपार्ने काम गरेको आजपाको आरोप छ । सुशासनमार्फत उच्च व्यावसायिक आत्मविश्वास जगाउनुको साटो उच्चपदस्थ कर्मचारीलाई बिनाकारण नियन्त्रणमा लिने, संवैधानिक पदाधिकारीलाई डर र त्रासमा राखने तथा निजी क्षेत्रमाथि धरपकड गरिनुले मुलुकको अर्थतन्त्र धर्मराएको आजपाले जनाएको छ ।
वर्तमान सरकार बनेपछि लगानीको वातावरण बन्छ भनेर गरिएको आशा निराशामा परिणत भएको आजपाको ठहर छ । सरकारले विकास कुटनीतिको दुहाई दिएपनि वैदेशिक सम्बन्धमा गतिशिलता दिनुको सट्टा गतिरोधको अवस्था सिर्जना गरेको निश्कर्ष आजपाले निकालेको छ ।
तपाईको प्रतिक्रिया