'सीडीओ–एसपीको भूमिका छानबिन गरियोस्' भन्दै गृहमन्त्रीलाई सांसद साहको पत्र

घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कडा कारबाही र पीडितलाई राहत उपलब्ध गराउन आग्रह

समाचार

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा साउने सोमबारको बोलबम यात्राका क्रममा भएको हिंसात्मक घटनापछि प्रतिनिधिसभा सदस्य ई. दीपक कुमार साहले गृहमन्त्रीलाई पत्र लेख्दै घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कडा कारबाही तथा सम्बन्धित सुरक्षा अधिकारीहरूको भूमिकामाथि अनुसन्धान गर्न माग गरेका छन्।

सांसद साहले मिति २०८३ साउन ११ गते गृहमन्त्रीलाई सम्बोधन गर्दै पठाएको पत्रमा साउन १० गते राति करिब १० बजे दुई समुदायबीच भएको हिंसात्मक झडपमा ओम प्रकाश मेहताको मृत्यु भएको तथा आठ जना घाइते भएको उल्लेख गरेका छन्। घाइतेमध्ये अधिकांशलाई गोली लागेको र उनीहरूको विराटनगरस्थित विभिन्न अस्पतालमा उपचार भइरहेको जानकारी पनि उनले दिएका छन्।

पत्रमा उक्त घटनाले स्थानीय शान्ति, सामाजिक सद्भाव र सार्वजनिक सुरक्षामा गम्भीर असर परेको उल्लेख गर्दै स्थानीयवासीबाट प्राप्त गुनासोअनुसार घटना रोकथाम, नियन्त्रण तथा परिस्थितिको व्यवस्थापनमा सम्बन्धित प्रशासनिक र सुरक्षा निकायले अपेक्षित जिम्मेवारी निर्वाह गर्न नसकेको भन्ने गम्भीर प्रश्न उठेको बताएका छन्।

सुरक्षा अधिकारीमाथि छानबिनको माग

सांसद साहले घटनाको सन्दर्भमा स्थानीयवासीले उठाएका गुनासोको निष्पक्ष मूल्याङ्कन हुने गरी सुनसरीका प्रमुख जिल्ला अधिकारी (सीडीओ), जिल्ला प्रहरी प्रमुख (एसपी) तथा जिल्ला प्रहरी कार्यालयका डीएसपीको भूमिकामाथि तत्काल छानबिन गर्न आग्रह गरेका छन्। आवश्यक देखिए उनीहरूलाई निलम्बनसहित विभागीय कारबाहीको प्रक्रिया अघि बढाउन पनि उनले माग गरेका छन्।

दोषीलाई कानुनबमोजिम कारबाही गर्न आग्रह

पत्रमार्फत उनले घटनाको स्वतन्त्र, निष्पक्ष, पारदर्शी र प्रभावकारी छानबिन गरी दोषी जोसुकै भए पनि कानुनबमोजिम कडाभन्दा कडा कारबाही गर्न सरकारसँग माग गरेका छन्। साथै घटनाको सत्यतथ्य छिटो सार्वजनिक गरी पीडित परिवारलाई न्याय दिलाउनुपर्नेमा जोड दिएका छन्।

पीडितलाई राहत र घाइतेको निःशुल्क उपचारको माग

सांसद साहले मृतकका परिवारलाई तत्काल राहत, उचित क्षतिपूर्ति तथा घाइतेहरूको निःशुल्क र प्रभावकारी उपचारको व्यवस्था गर्न पनि सरकारसँग आग्रह गरेका छन्।

साम्प्रदायिक हिंसा दोहोरिन नदिन दीर्घकालीन पहलको आग्रह

यस्ता साम्प्रदायिक तथा सामाजिक हिंसाका घटना भविष्यमा दोहोरिन नदिन सुरक्षा संयन्त्रलाई थप प्रभावकारी बनाउन, आवश्यक नीति, कानुनी तथा संस्थागत सुधार गर्न तथा सुनसरीसहित संवेदनशील क्षेत्रमा विशेष सुरक्षा सतर्कता अपनाउन गृह मन्त्रालयले पहल गर्नुपर्ने सांसद साहको माग छ।

पत्रको अन्त्यमा उनले घटनाको सत्यतथ्य शीघ्र सार्वजनिक भई पीडितले न्याय पाउने र दोषी कानुनी दायरामा आउने विश्वास व्यक्त गर्दै गृह मन्त्रालयबाट तत्काल प्रभावकारी पहल हुने अपेक्षा गरेका छन्।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ