'मधेश: अबको बाटो' अन्तरक्रिया सम्पन्न, मधेशको वर्तमान र भविष्यबारे गहन बहस

समाचार

काठमाडौं । शहीद संजय चौधरी स्मृति प्रतिष्ठानको आयोजनामा ‘मधेश: अबको बाटो’ विषयक अन्तरक्रिया कार्यक्रम शनिबार काठमाडौंको आलोकनगरस्थित इम्पेरियल हाउस एण्ड होटलमा सम्पन्न भएको छ।

प्रतिष्ठानकी अध्यक्ष तथा मधेश आन्दोलनका शहीद संजय चौधरीकी बहिनी ममता चौधरीको अध्यक्षतामा आयोजित कार्यक्रममा मधेश आन्दोलनदेखि हालसम्म भएका उपलब्धि, आन्दोलनको राजनीतिक प्रभाव तथा वर्तमान अवस्थामा मधेशले सामना गरिरहेका चुनौतीहरूको गहन समीक्षा गरिएको थियो।

कार्यक्रममा सहभागी वक्ताहरूले मधेश आन्दोलनले नेपालको राजनीतिक संरचनामा ऐतिहासिक परिवर्तन ल्याउन महत्वपूर्ण भूमिका खेलेको भए पनि आन्दोलनका मूल उद्देश्यहरू अझै पूर्ण रूपमा सम्बोधन हुन नसकेको धारणा राखेका थिए। उनीहरूले संघीयता, समावेशीता, समानुपातिक प्रतिनिधित्व तथा मधेशी समुदायको अधिकार सुनिश्चित गर्न भएका प्रयासहरूको समीक्षा गर्दै कार्यान्वयन पक्ष अझै कमजोर रहेको बताए।

अन्तरक्रियामा पछिल्लो समय मधेशमा देखिएको राजनीतिक विभाजन, नेतृत्व संकट, सामाजिक ध्रुवीकरण तथा युवापुस्तामा बढ्दो निराशाजस्ता विषयमा समेत विस्तृत छलफल भएको थियो। वक्ताहरूले वर्तमान द्वन्द्वात्मक अवस्थाको वस्तुगत विश्लेषण गर्दै मधेशको भविष्यलाई सकारात्मक दिशामा अघि बढाउन साझा दृष्टिकोण, स्पष्ट नीति र प्रभावकारी नेतृत्व आवश्यक रहेकोमा जोड दिएका थिए।

कार्यक्रममा राजनीतिक, सामाजिक तथा आर्थिक क्षेत्रका सम्भावना र चुनौतीबारे समेत विचार आदानप्रदान गरिएको थियो। सहभागीहरूले मधेशको समग्र विकासका लागि शिक्षा, रोजगारी, सुशासन, आर्थिक सशक्तीकरण, सामाजिक एकता र युवाको सक्रिय सहभागिता अपरिहार्य रहेको धारणा व्यक्त गरेका थिए।

अन्तरक्रियामा मधेशका विभिन्न जिल्लाबाट आएका सामाजिक अभियन्ता, युवा, बुद्धिजीवी तथा नागरिक समाजका प्रतिनिधिहरूले आ–आफ्ना धारणा प्रस्तुत गर्दै मधेशको समृद्धि र अधिकार सुनिश्चित गर्न सबै पक्षबीच सहकार्य र संवादलाई निरन्तरता दिनुपर्ने आवश्यकता औंल्याएका थिए।

कार्यक्रमको समापन गर्दै अध्यक्ष ममता चौधरीले भावुक मन्तव्य व्यक्त गर्दै शहीदहरूको त्याग, बलिदान र संघर्षलाई स्मरण गरिन् । उनले मधेश आन्दोलनका क्रममा शहीद भएका व्यक्तिहरूको योगदानले मुलुकमा समावेशी लोकतन्त्र, अधिकार र पहिचानको आन्दोलनलाई नयाँ उचाइ दिएको उल्लेख गर्दै उनीहरूको सपना अझै पूर्ण रूपमा साकार हुन बाँकी रहेको बताइन्।

चौधरीले शहीदहरूको बलिदानलाई केवल सम्झनामा सीमित नराखी त्यसको मर्मअनुसार न्याय, समानता, सामाजिक रूपान्तरण र अधिकार सुनिश्चित गर्ने दिशामा सबै राजनीतिक दल, नागरिक समाज, युवा तथा आम नागरिक एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिइन्।

उनले शहीदहरूको सपना साकार पार्न आपसी एकता, साझा प्रतिबद्धता र निरन्तर संघर्ष आवश्यक रहेको उल्लेख गर्दै भावी पुस्ताले पनि शहीदहरूको योगदानलाई सम्मान गर्दै न्यायपूर्ण समाज निर्माणमा सक्रिय भूमिका निर्वाह गर्नुपर्ने धारणा रााखिन्।

कार्यक्रममा सहभागीहरूले पनि शहीदहरूको योगदानको उच्च सम्मान गर्दै उनीहरूले देखाएको मार्गलाई पछ्याउँदै मधेश र समग्र देशमा समानता, न्याय र सामाजिक परिवर्तनको अभियानलाई अझ सशक्त बनाउँदै लैजानुपर्नेमा जोड दिएका थिए।

उनले यस्ता अन्तरक्रिया कार्यक्रमले मधेशका साझा मुद्दामा गम्भीर बहस सिर्जना गर्दै आगामी नीति निर्माण र जनचेतना अभिवृद्धिमा सकारात्मक योगदान पुग्ने अपेक्षा व्यक्त गरिन्।

कार्यक्रममा पूर्व एसपी रामेश्वर यादव, संविधान सभा सदस्य बिपि यादव, मधेश प्रदेशका पूर्वसांसद बिक्की यादव, मधेश प्रदेश योजना आयोगका पूर्वउपाध्यक्ष डा.सोहन साह, मधेशी एकता समाजकी नेपाल प्रमुख डा.बबी सिंह यादव, गायक रविराज साह, युवा नेता तथा अभियन्ताहरु अनिल महासेठ, सन्तोष मेहता, प्रियंका पाण्डेय, संजय यादव, सिएन थारु, सरोज खेलाडी लगायतको सहभागिता रहेको थियो ।

 

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ