डाक्टर दिल्ली हरिजनको आमरण अनशनप्रति राष्ट्रिय समता पार्टीको ऐक्यबद्धता

समाचार

काठमाडौं । रेजिडेन्ट तथा इन्टर्न डाक्टरहरूको उचित निर्वाह भत्ताको माग गर्दै आमरण अनशनमा रहेका डाक्टर दिल्ली हरिजनप्रति राष्ट्रिय समता पार्टीले पूर्ण ऐक्यबद्धता जनाएको छ।

राष्ट्रिय समता पार्टीकी उपाध्यक्ष सुनिता सहका अनुसार पार्टी डाक्टर हरिजनका जायज मागहरूको पक्षमा दृढतापूर्वक उभिएको छ र सरकारले तत्काल संवादमार्फत आन्दोलनको निकास निकाल्नुपर्नेमा जोड दिएको छ।

पार्टीले डाक्टर हरिजनले उठाएका मागहरू न्यायोचित, व्यावहारिक तथा समग्र स्वास्थ्य क्षेत्रको सुधारसँग प्रत्यक्ष रूपमा सम्बन्धित रहेको उल्लेख गर्दै नेपाल सरकार तथा सम्बन्धित सबै सरोकारवाला निकायलाई ती मागहरू तत्काल गम्भीरतापूर्वक सम्बोधन गर्न आग्रह गरेको छ।

पार्टीले जारी गरेको धारणामा स्वास्थ्य सेवाको मेरुदण्डका रूपमा रहेका रेजिडेन्ट तथा इन्टर्न डाक्टरहरूले अध्ययनसँगै सेवा प्रदान गरिरहे पनि न्यूनतम जीवनयापन गर्न सक्ने गरी उचित निर्वाह भत्ता नपाउनु चिन्ताको विषय भएको उल्लेख गरिएको छ। लामो समयदेखि स्वास्थ्य संस्थाहरूमा महत्त्वपूर्ण जिम्मेवारी निर्वाह गर्दै आएका प्रशिक्षार्थी चिकित्सकहरूको श्रम, समय र योगदानको सम्मान गर्दै उनीहरूको मागलाई बेवास्ता गर्नु उचित नहुने पार्टीको भनाइ छ।

राष्ट्रिय समता पार्टीले आन्दोलनलाई केवल विरोधका रूपमा नभई स्वास्थ्य क्षेत्रका संरचनागत समस्या समाधान गर्ने अवसरका रूपमा लिन सरकारलाई सुझाव दिएको छ। वार्ता, सहमति र आपसी समझदारीमार्फत यथाशीघ्र समाधान खोज्न सम्बन्धित सबै पक्षले जिम्मेवार भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता पार्टीले औँल्याएको छ।

यस्तै, पार्टीले नेपाल चिकित्सक संघलाई पनि यस संवेदनशील विषयमा सक्रिय, सशक्त र नेतृत्वदायी भूमिका निर्वाह गर्न आग्रह गरेको छ। चिकित्सक संघले सरकार, स्वास्थ्य संस्था र आन्दोलनरत पक्षबीच प्रभावकारी मध्यस्थकर्ताको भूमिका खेलेर संवाद, सहकार्य तथा सहमतिमूलक समाधानको वातावरण निर्माण गर्न पहल गर्नुपर्ने पार्टीको धारणा छ।

पार्टीले स्वास्थ्य क्षेत्रका समस्या समाधान नगरी गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्न नसकिने उल्लेख गर्दै सम्बन्धित सबै पक्षलाई जिम्मेवार, संवेदनशील र परिणाममुखी बन्न आग्रह गरेको छ। साथै, आमरण अनशनमा रहेका डाक्टर दिल्ली हरिजनको स्वास्थ्य अवस्थाप्रति गम्भीर चासो व्यक्त गर्दै सम्मानजनक, दिगो र छिटो समाधान निकाल्न सरकारसँग पुनः जोडदार माग गरेको छ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ