काठमाडौं । भारत सरकारको अनुदान सहयोगमा नेपालका शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रसँग सम्बन्धित ८ वटा उच्च प्रभाव सामुदायिक विकास परियोजना सञ्चालन हुने भएका छन्। परियोजनाहरू कार्यान्वयनका लागि काठमाडौंस्थित भारतीय राजदूतावास, नेपाल सरकारका सम्बन्धित मन्त्रालय तथा परियोजना कार्यान्वयन निकायबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ।
कुल ८० करोड ३० लाख रुपैयाँ अनुमानित लागतका यी परियोजनाहरू कोशी, बागमती, कर्णाली र गण्डकी प्रदेशका विभिन्न जिल्लामा सञ्चालन हुनेछन्।
परियोजनाअन्तर्गत सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिजिटलाइजेसन, भोजपुरमा कृषि उत्पादन संकलन तथा बिक्री केन्द्र, धादिङमा नगरीय कृषि तथा पशुपन्छी केन्द्र, मोरङको बेलबारी बहुमुखी क्याम्पसको भवन निर्माण, दैलेखमा १० शैयाको अस्पताल, हुम्लामा कृषि प्रवद्र्धन केन्द्र, स्याङ्जामा कोल्ड स्टोर तथा सुनसरीको बर्जु गाउँपालिकामा १५ शैयाको अस्पताल भवन निर्माण गरिनेछ।
यी परियोजनाहरू नेपाल सरकारका स्थानीय निकाय तथा सम्बन्धित संस्थामार्फत कार्यान्वयन गरिने भारतीय राजदूतावासले जनाएको छ।
भारत सरकारले सन् २००३ यता नेपालमा ६०५ वटा उच्च प्रभाव सामुदायिक विकास परियोजना अघि बढाइसकेको छ। तीमध्ये स्वास्थ्य, शिक्षा, कृषि, खानेपानी, कनेक्टिभिटी, सरसफाइ तथा सार्वजनिक उपयोगितासँग सम्बन्धित ५१२ वटा परियोजना सम्पन्न भइसकेका छन् भने बाँकी परियोजना कार्यान्वयनका विभिन्न चरणमा रहेका छन्।
भारतीय राजदूतावासले यी परियोजनाले नेपालका प्राथमिकताका क्षेत्रमा पूर्वाधार विकास तथा विकास र समृद्धिको प्रयासलाई थप सहयोग पुग्ने जनाएको छ।
तपाईको प्रतिक्रिया