काठमाडौं । जन अधिकार पार्टीले नेपालको स्थापित पत्रिका जन आस्था का सम्पादक किशोर श्रेष्ठलाई समाचार लेखेकै आधारमा पक्राउ गरिएको भन्दै आपत्ति जनाएको छ। पार्टीले राज्यले आवश्यक कानुनी मापदण्ड तथा प्रक्रिया पूरा नगरी पत्रकारलाई पक्राउ गर्नु लोकतान्त्रिक मूल्य र मान्यताविपरीत भएको जनाएको हो।
पार्टी अध्यक्ष डा. शरद सिंह यादवद्वारा जारी प्रेस विज्ञप्तिमा पत्रकार श्रेष्ठको पक्राउप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ। समाचार लेखेकै आधारमा राज्यले गरेको धरपकडले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मानमा प्रश्न उठाउने पार्टीको भनाइ छ।
जन अधिकार पार्टीले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई लोकतन्त्रको महत्वपूर्ण आधारका रूपमा सम्मान गर्नुपर्नेमा जोड दिएको छ। साथै, पत्रकारमाथि कुनै कानुनी कारबाही आवश्यक भए प्रचलित कानुनअनुसार विधि, मापदण्ड र प्रक्रिया पूरा गर्नुपर्ने जनाएको छ।
विज्ञप्तिमा राज्यका निकायले कानुनी प्रक्रिया पालना नगरी पत्रकारमाथि धरपकड गर्नु लोकतान्त्रिक अभ्याससँग मेल नखाने उल्लेख गर्दै यस्तो कार्य तत्काल रोक्न माग गरिएको छ।
जन अधिकार पार्टीले पत्रकार किशोर श्रेष्ठलाई अविलम्ब रिहा गर्न समेत सरकारसँग माग गरेको छ।
पार्टीले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण गर्दै पत्रकारले निर्वाध रूपमा आफ्नो पेशागत जिम्मेवारी निर्वाह गर्ने वातावरण सुनिश्चित गर्न राज्यका सम्बन्धित निकायलाई आग्रह गरेको छ।
तपाईको प्रतिक्रिया