काठमाडौं । भारतले आफ्नो ८०औँ स्वतन्त्रता दिवस विभिन्न कार्यक्रमका साथ मनाउँदैछ। स्वतन्त्रता दिवसको मुख्य समारोह नयाँदिल्लीस्थित ऐतिहासिक लालकिल्लामा आयोजना गरिएको छ।
समारोहमा प्रधानमन्त्री नरेन्द्र मोदीले लालकिल्लाबाट राष्ट्रिय झण्डा ‘तिरंगा’ फहराउँदै राष्ट्रका नाममा सम्बोधन गरेका छन्। यो लालकिल्लाबाट प्रधानमन्त्री मोदीको लगातार १३औँ स्वतन्त्रता दिवस सम्बोधन हो।
झण्डोत्तोलनअघि प्रधानमन्त्री मोदीले तीनै सशस्त्र बल र दिल्ली प्रहरीका कर्मचारी सम्मिलित गार्ड अफ अनरबाट सलामी ग्रहण गरेका थिए। झण्डोत्तोलनसँगै स्वदेशी १०५ एमएम लाइट फिल्ड गनबाट २१ तोपको सलामी दिइएको थियो।
समारोहमा करिब २७ हजार मानिसको सहभागिता रहेको जनाइएको छ। सहभागीमध्ये विभिन्न क्षेत्रका करिब ५ हजार विशेष अतिथि, सर्वसाधारण तथा युवाहरू रहेका छन्।
प्रधानमन्त्रीको सम्बोधनपछि एनसीसी क्याडेट तथा ‘माई भारत’ स्वयंसेवकहरूले ‘वन्दे मातरम्’ प्रस्तुत गर्ने कार्यक्रम रहेको छ। त्यसपछि राष्ट्रिय गान प्रस्तुत गरिएको छ।
स्वतन्त्रता दिवसको अवसरमा प्रधानमन्त्री मोदीले शनिबार बिहान सामाजिक सञ्जालमार्फत देशवासीलाई शुभकामना दिएका थिए। उनले राष्ट्रिय पर्वले देशका वीर सैनिकहरूको साहस, संघर्ष र समर्पणको स्मरण गराउने उल्लेख गर्दै विकसित भारत निर्माणको संकल्पलाई अघि बढाउन आह्वान गरेका छन्।
तपाईको प्रतिक्रिया