काठमाडौँस्थित भारतीय राजदूतावासमा स्वतन्त्रता दिवस २०२६ को उत्सव

समाचार

काठमाडौं । नेपालमा रहनुभएका भारतीय समुदाय र भारतका मित्रहरुको सहभागितामा काठमाडौँस्थित भारतीय राजदूतावासमा भारतको ८०औँ स्वतन्त्रता दिवस मनाइयो।

‘वन्दे मातरम’् गायनसँगै कार्यक्रमको शुभारम्भ भयो।त्यसपछि नेपालका लागि भारतीय राजदूतले भारतको राष्ट्रिय झण्डा झण्डोत्तोलन गर्नुभयो र राष्ट्रिय गान गाइयो । यसपश्चात् भारतका राष्ट्रपति श्रीमती द्रौपदी मुर्मुले ८० औँ स्वतन्त्रता दिवसको पूर्वसन्ध्यामा राष्ट्रका नाममा गर्नुभएको सम्बोधन प्रसारण गरियो ।

सो अवसरमा राजदूतले भारतीय सशस्त्र बलका दिवंगत ११ जना कर्मचारीका श्रीमती र निकटतम नातेदारलाई सम्मान गर्नुभयो र कुल नेरु. ८.२ करोडको एजीआईएफ (आर्मी ग्रुप इन्स्योरेन्स फण्ड) चेक हस्तान्तरण गर्नुभयो ।

सो अवसरमा राजदूतले ८०औँ स्वतन्त्रता दिवसको उपलक्ष्यमा दूतावासद्वारा आयोजित विविध प्रतियोगिताका विजेताहरुलाई सम्मान गर्नुभयो। यी प्रतियोगिताहरुमा ‘विकसित भारत’विषयवस्तु बारे चित्रकला प्रतियोगिता, विकसित भारत दौड तथा अन्तर–विद्यालय हाजिरीजवाफ प्रतियोगिता समावेश थिए । साथै, सोही समारोहमा भारत को जानिए हाजिरीजवाफ प्रतियोगिताको विशेष संस्करणका विजेताहरुलाई पनि सम्मान गरियो ।

दूतावासले नेपालका सातै प्रदेशमा फैलिएका २२ वटा शैक्षिक संस्था र पुस्तकालयका लागि पुस्तक अनुदानको पनि घोषणा ग¥यो । यस पहलले शैक्षिक स्रोतहरुमा पहुँच बढाउने लक्ष्य राखेको छ ।

काठमाडौँमा आयोजित भारतको ८०औँ स्वतन्त्रता दिवसको उत्सवमा नेपालमा रहनुभएका भारतीय समुदायका सदस्यहरु, भारतका मित्रहरुका साथै दूतावासका अधिकारीहरु र वहाँहरुका परिवारको उत्साहजनक सहभागिता रहेको थियो । यस अवसरमा दूतावासस्थित स्वामी विवेकानन्द साँस्कृतिक केन्द्रका शिक्षक तथा विद्यार्थीहरुले जीवन्त साँस्कृतिक प्रस्तुति र देशभक्तिपूर्ण गीतहरु पनि प्रस्तुत गरेका थिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ