जेनजीको एजेन्डा संस्थागत नभएसम्म देशले गति लिन सक्दैन : प्रभु साह

समाचार

काठमाडौं । आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले युवा पुस्ताले उठाएको जेनजी आन्दोलन आफ्नो उद्देश्यअनुसार अघि बढ्न नसक्दा जनताले अपेक्षित परिवर्तनको अनुभूति गर्न नपाएको बताएका छन्।

ललितपुरको कुपण्डोलमा आयोजित नौदलीय अग्रगामी मोर्चाअन्तर्गत युवा, महिला तथा सञ्चार एवं सूचना प्रविधि मोर्चाको बैठकलाई सम्बोधन गर्दै साहले आन्दोलनलाई सही दिशा दिने नेतृत्वको अभाव र त्यसको ‘हाइज्याक’ हुनु देशको राजनीतिक परिवर्तनको प्रमुख कमजोरी बनेको दाबी गरे।

उनका अनुसार जेनजी आन्दोलनले व्यवस्था र शासन प्रणालीमा सुधारसँगै जनताको दैनिक जीवनमा समेत परिवर्तन खोजेको थियो। तर आन्दोलनको भावना र एजेन्डालाई संस्थागत गर्न नसक्दा त्यसको उपलब्धि अपेक्षाअनुसार देखिन नसकेको उनले बताए।

“युवाहरूले व्यवस्था बदल्न र बेथितिविरुद्ध आवाज उठाए, तर आज त्यो आन्दोलन वेवारिसे बनेको छ,” साहले भने, “युवाको ऊर्जा र एजेन्डालाई संस्थागत नगरेसम्म देशले विकासको गति लिन सक्दैन।”

उनले आन्दोलनबाट उत्पन्न जनआक्रोशलाई राजनीतिक स्वार्थका लागि प्रयोग गरिएको आरोपसमेत लगाए। उनका अनुसार सत्तामा व्यक्तिहरू परिवर्तन भए पनि शासन गर्ने प्रवृत्ति परिवर्तन हुन नसक्दा आम नागरिकले सकारात्मक परिवर्तनको अनुभूति गर्न सकेका छैनन्।

साहले महिलाको राजनीतिक तथा सामाजिक सहभागिताको विषयमा समेत प्रश्न उठाए। देशको कुल जनसंख्यामा महिलाको हिस्सा ५१ प्रतिशत रहेको अवस्थामा संविधानले ३३ प्रतिशत सहभागिताको व्यवस्था गर्नु पर्याप्त नभएको उनको तर्क छ।

उनले महिलालाई जनसंख्याको अनुपातमा राज्यका सबै निकायमा समान सहभागिता सुनिश्चित गर्नुपर्ने बताए। राज्यका हरेक क्षेत्रमा महिलाको समान प्रतिनिधित्व कायम गर्न विद्यमान व्यवस्थामै पुनर्विचार आवश्यक रहेको साहको भनाइ थियो।

अध्यक्ष साहले वर्तमान सरकार जनअपेक्षा पूरा गर्ने सवालमा कमजोर बन्दै गएको आरोप पनि लगाए। सुशासन, रोजगारी र सामाजिक न्यायका विषयमा सरकारले प्रभावकारी काम गर्न नसकेको भन्दै उनले असन्तुष्टि व्यक्त गरे।

सरकारले जनताका समस्या सम्बोधन गर्न नसके अग्रगामी मोर्चा र आम जनता पार्टीले सडक तथा राजनीतिक दबाबलाई निरन्तरता दिने चेतावनीसमेत साहले दिएका छन्।

 
 
 

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ