‘आर्थिक अभावमा अस्पतालबाहिर बच्चा जन्माउनुपर्ने अवस्था लज्जास्पद’

समाचार

राजविराज । आम जनता पार्टी (आजपा) निकट आम महिला मोर्चाले राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा उपचारका लागि आवश्यक रकम अभाव भएपछि एक महिलाले अस्पतालको बाहिरी प्राङ्गणमै बच्चा जन्माउन बाध्य भएको घटनाप्रति गम्भीर आपत्ति जनाएको छ।

मोर्चाकी इन्चार्ज रन्जूकुमारी साहले शुक्रबार जारी गरेको विज्ञप्तिमा उक्त घटनालाई २१औँ शताब्दीको मानवता, लोकतन्त्र र कानुनी राज्यकै उपहास भएको बताइएको छ। संविधानले नागरिकलाई आधारभूत स्वास्थ्य सेवा निःशुल्क पाउने तथा आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित नगरिने व्यवस्था गरे पनि आर्थिक अभावका कारण अस्पताल परिसरबाहिरै बच्चा जन्माउनुपर्ने अवस्था आउनु अत्यन्तै दुःखद र लज्जास्पद भएको मोर्चाको ठहर छ।

विज्ञप्तिमा नेपालको संविधानको धारा ३५ ले प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क पाउने तथा कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित नगरिने व्यवस्था गरेको स्मरण गराइएको छ। त्यस्तै, सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐनले प्रत्येक महिलालाई सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्यको अधिकार सुनिश्चित गरेको उल्लेख गर्दै ती संवैधानिक तथा कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयन हुन नसकेको मोर्चाले आरोप लगाएको छ।

उपचार खर्च र प्रशासनिक लापरबाहीका कारण घटना भएको दाबी गर्दै मोर्चाले यसले नेपालको स्वास्थ्य प्रणालीमा रहेको उदासीनता तथा विपन्न नागरिकप्रतिको संवेदनहीनता उजागर गरेको जनाएको छ। निःशुल्क उपचार पाउनुपर्ने नागरिकलाई अस्पतालबाहिरै पुगेर बच्चा जन्माउनुपर्ने अवस्था सिर्जना हुनुमा अस्पताल प्रशासन तथा सम्बन्धित निकाय जिम्मेवार रहेको मोर्चाको भनाइ छ।

मोर्चाले घटनाको निष्पक्ष छानबिन गरी लापरबाही गर्ने कर्मचारी तथा अस्पताल प्रशासनलाई तत्काल कानुनी कारबाहीको दायरामा ल्याउन सरकारसँग माग गरेको छ। साथै, पीडित महिला र नवजात शिशुको सम्पूर्ण उपचारको जिम्मेवारी राज्यले लिनुपर्ने तथा उचित क्षतिपूर्तिसहित निःशुल्क र प्रभावकारी उपचारको व्यवस्था गर्नुपर्ने माग मोर्चाले अघि सारेको छ।

त्यस्तै, कागजमा मात्र सीमित स्वास्थ्यसम्बन्धी मौलिक हक तथा सुरक्षित मातृत्वका कार्यक्रमलाई देशभरका सरकारी अस्पतालमा प्रभावकारी रूपमा कार्यान्वयन गर्न मोर्चाले आग्रह गरेको छ। भविष्यमा कुनै पनि नेपाली महिलाले आर्थिक अभावकै कारण अस्पतालको ढोकाबाहिर बच्चा जन्माउनुपर्ने अवस्था आउन नदिन राज्य गम्भीर बन्नुपर्नेमा मोर्चाले जोड दिएको छ।

नागरिकको बाँच्न पाउने तथा महिलाको सुरक्षित मातृत्वको अधिकार सुनिश्चित गर्न आफ्नो मोर्चा निरन्तर संघर्षरत रहने प्रतिबद्धता व्यक्त गर्दै साहले घटनाविरुद्ध आवाज उठाउन तथा पीडितलाई न्याय दिलाउन न्यायप्रेमी नागरिक, मानव अधिकारकर्मी र सञ्चारकर्मीलाई अपिल गरेकी छन्।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ