काठमाडौंमा एलपी ग्यास आपूर्ति सहज बनाउन उद्योगमन्त्री साहको सक्रियता

समाचार

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीर क्षेत्रमा गएको पहिरोका कारण काठमाडौं प्रवेश गर्ने मार्ग अवरुद्ध भएपछि एलपी ग्यास आपूर्तिमा देखिएको समस्या समाधान गर्न सरकारले पहल थालेको छ।

भदौ १० गतेको विपद्पछि कृष्णभीर क्षेत्रमा पहिरो गएको थियो। पहिरोका कारण भदौ १४ गतेदेखि काठमाडौं प्रवेश गर्ने मार्ग अवरुद्ध हुँदा एलपी ग्यास बोकेका बुलेट काठमाडौं आउन नसक्ने अवस्था बनेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ।

ग्यास आपूर्तिमा देखिएको समस्या तत्काल समाधान गर्न उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री इ. दीपक कुमार साहको पहलमा ग्यास उद्योगी तथा सम्बन्धित सरोकारवालासँग छलफल गरिएको छ। छलफलमा काठमाडौंमा ग्यास आपूर्ति सहज बनाउन आवश्यक समन्वय तथा वैकल्पिक व्यवस्थाबारे छलफल भएको मन्त्रालयले जनाएको छ।

छलफलमा ग्यास उद्योगीहरूले काठमाडौंमा नियमित रूपमा दैनिक करिब ४० हजार सिलिन्डर ग्यास खपत हुने गरेको भए पनि तत्काल ५० हजार सिलिन्डर एलपी ग्यास ल्याउने प्रतिबद्धता जनाएका छन्।

सडक अवरोधका कारण आपूर्ति प्रभावित भए पनि सर्वसाधारणका लागि अत्यावश्यक वस्तुका रूपमा रहेको एलपी ग्यासको अभाव हुन नदिन वैकल्पिक व्यवस्थामार्फत आपूर्ति सहज बनाउने प्रयास भइरहेको मन्त्रालयको भनाइ छ।

मन्त्रालयले सर्वसाधारणको दैनिक जीवनसँग प्रत्यक्ष जोडिएका अत्यावश्यक वस्तुको आपूर्ति सहज र नियमित बनाउन आवश्यक पहल तथा सम्बन्धित निकायसँगको समन्वयलाई निरन्तरता दिने जनाएको छ।

सरकारले प्राकृतिक विपद्का कारण आपूर्ति प्रणालीमा परेको अवरोधलाई तत्काल व्यवस्थापन गर्दै बजारमा एलपी ग्यासको अभाव हुन नदिने प्रयास गरिरहेको जनाएको छ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ