काठमाडौं । पछिल्लो राजनीतिक घटनाक्रमप्रति असन्तुष्टि जनाउँदै राष्ट्रिय मुक्ति पार्टी नेपालका महासचिव केशव झासहित ९ जना नेता तथा केन्द्रीय सदस्यले पार्टी परित्याग गर्ने घोषणा गरेका छन्।
राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपालबाट अलग भएको घोषणा गर्दै उनीहरूले अब ‘हुंकार मधेश अभियान’ मार्फत वैचारिक विकल्प र राजनीतिक अभियान अघि बढाउने बताएका छन्।
पार्टी परित्यागको घोषणा गर्दै जारी विज्ञप्तिमा पछिल्ला राजनीतिक घटनाक्रमले पुरानो शैली र पुराना व्यक्तिहरूबाट देशको राजनीति अघि बढ्ने अवस्था नरहेको दाबी गरिएको छ। देशका जनता निराश रहेको तथा पटक–पटकका संघर्ष र आन्दोलनका बाबजुद जनताका न्यूनतम आवश्यकता समेत पूरा हुन नसकेको उनीहरूको भनाइ छ।
विज्ञप्तिमा देशको वर्तमान अवस्थाबाट बाहिर निस्कन नेपालको मौलिकता र मातृभूमिलाई सुहाउने वैचारिकीका आधारमा बलियो अर्थतन्त्र निर्माणमा केन्द्रित अर्थ–राजनीतिको आवश्यकता रहेको उल्लेख गरिएको छ।
उनीहरूले सामाजिक तथा सांस्कृतिक चेतना विकासका लागि अभियानलाई निरन्तरता दिने, राजनीतिक चेतनाका लागि संघर्षमा जोड दिने र आर्थिक चेतनाका लागि विद्रोहको तयारी गर्ने बताएका छन्।
विज्ञप्तिमा औपनिवेशिकताको अन्त्य नभएसम्म लोकतन्त्रको प्रत्याभूति सम्भव नहुने र लोकतन्त्र तथा शान्तिबिना समृद्धि हासिल गर्न नसकिने दाबी गरिएको छ। यसबारे आत्मसमीक्षा गर्दै अहिलेसम्म प्राप्त उपलब्धिका लागि योगदान गर्ने सबैलाई धन्यवाद दिइएको छ।
पार्टीबाट अलग भएका नेताहरूले अब ‘विचारसहितको विकल्प र विकल्पसहितको विद्रोह’ को यात्राका रूपमा ‘हुंकार मधेश अभियान’ अघि बढाउने घोषणा गरेका छन्।
उनीहरूले छिट्टै समाजका विभिन्न क्षेत्रका सक्षम तथा योग्य व्यक्तित्वहरूलाई एकताबद्ध गरी विस्तृत योजनासहित सार्वजनिक रूपमा प्रस्तुत हुने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।
राष्ट्रिय मुक्ति पार्टी नेपाल परित्याग गर्नेमा महासचिव केशव झा रहेका छन्। त्यस्तै केन्द्रीय सदस्यहरू चन्द्रानन्द मिश्र, पंकज कुमार देव, हिरालाल मण्डल, अनुपम झा, रिषिका जलान, कुमारी तामाङ, ललन मिश्र र शैशव राजु रहेका छन्।
उनीहरूले संयुक्त रूपमा जारी गरेको विज्ञप्तिमा पार्टी परित्यागको निर्णय सार्वजनिक गर्दै आगामी राजनीतिक यात्रा ‘हुंकार मधेश अभियान’सँग जोडिने जानकारी दिएका छन्।
तपाईको प्रतिक्रिया