काठमाडौं । जनमत पार्टीको दोस्रो महाधिवेशन असोज १७ गते शनिबार वीरगंजमा हुने भएको छ। यसअघि असोज ९ र १० गते महाधिवेशन गर्ने निर्णय भए पनि प्रतिकूल मौसमका कारण मिति सारिएको हो।
जनमत पार्टीको २०८३ असोज ८ गते बसेको केन्द्रीय कार्यकारिणी समितिको आकस्मिक बैठकले महाधिवेशनको नयाँ मिति तय गरेको हो।
पार्टीका अनुसार ‘अर्नब’ चक्रवातका कारण असोज ८ देखि १२ गतेसम्म भारी वर्षासँगै बाढी, पहिरो, डुबान, नदी कटान, हिमपहिरो तथा सडक अवरोधको जोखिम रहेको र विद्युत् तथा सञ्चार सेवा प्रभावित हुनसक्ने सम्बन्धित निकायहरूले सूचना जारी गरेका छन्।
यस्तै, सो अवधिमा लामो यात्रा नगर्न सुझाव दिइएको तथा शिक्षा तथा खेलकुद मन्त्रालयले विद्यालय बिदा गर्न र विश्वविद्यालय तहका परीक्षा आवश्यकतानुसार स्थगित गर्न निर्देशन दिएकाले महाधिवेशन सार्ने निर्णय गरिएको पार्टीले जनाएको छ।
यसअघि २०८२ चैत १ गते बसेको जनमत पार्टीको केन्द्रीय सचिवालय बैठकले असोज ९ र १० गते दोस्रो महाधिवेशन गर्ने निर्णय गरेको थियो। सोहीअनुसार महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको भए पनि मौसम प्रतिकूल हुने भएपछि मिति परिवर्तन गरिएको हो।
पार्टीका सचिवालय प्रमुख राजेश कुमार मण्डलका अनुसार महाधिवेशनका लागि यसअघि पूरा भएका अन्य सबै प्रक्रिया भने यथावत् रहनेछन्।
तपाईको प्रतिक्रिया