‘हुंकार मधेश’ले सार्वजनिक गर्‍यो अवधारणा पत्र, राजनीतिक र सामाजिक एजेन्डा (अवधारणा र नामावलीसहित)

समाचार

काठमाडौं । ‘हुंकार मधेश’ अभियानले आफ्नो अवधारणा पत्र तथा केन्द्रीय अभियन्ताहरूको सूची सार्वजनिक गरेको छ। अभियानले मौलिकतावादको वैचारिकी र सामुदायिक समाजवादमा आधारित अर्थनीति स्थापित गर्नेदेखि संविधान संशोधन, संघीयता सुदृढीकरण र सुशासनसम्मका विभिन्न एजेन्डा अघि सारेको छ।

अभियानले ‘पाँच स’ अर्थात् सनातन, संघीयता, सामाजिक न्याय, सुशासन र समृद्धिको मान्यताअनुसार शासन व्यवस्था सञ्चालन हुनुपर्ने धारणा अघि सारेको छ। जातीय भेदभाव तथा छुवाछुत अन्त्य गर्दै सामूहिक पहिचान निर्माणका लागि नामबाट थर हटाउने अभियान सञ्चालन गर्ने प्रस्तावसमेत अवधारणा पत्रमा उल्लेख छ।

‘हुंकार मधेश’ले राजनीतिक नेतृत्वमा कार्यकाल र उमेरको सीमा निर्धारण गर्नुपर्ने प्रस्ताव गरेको छ। एउटै व्यक्तिले पार्टीको पद तथा लाभको पदमा दुई कार्यकालभन्दा बढी अवसर नपाउने व्यवस्था लागू गर्नुपर्ने तथा संगठनको कार्यकारी तहमा अध्यक्ष वा संयोजक बन्न अधिकतम ४९ वर्ष र कुनै पनि समितिमा रहन अधिकतम ६५ वर्षको उमेर हद तोकिनुपर्ने उसको धारणा छ।

संगठनभित्र ४० वर्षभन्दा कम उमेर समूहको ४० प्रतिशत, ६० वर्षभन्दा कम उमेर समूहको ४० प्रतिशत र ६० वर्षभन्दा माथिको समूहको २० प्रतिशत प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने प्रस्ताव पनि अभियानले अघि सारेको छ। अध्यक्षीय प्रणालीको सट्टा लोकतान्त्रिक तथा सामूहिक नेतृत्व प्रणाली स्थापित गर्नुपर्नेमा पनि जोड दिइएको छ।

अभियानले ‘राजनीति र उद्यम सँगसँगै’को अवधारणा अघि सार्दै योग्य तथा ज्ञानी व्यक्तिको नेतृत्व आवश्यक रहेको जनाएको छ। केन्द्रीय तहमा संयोजक वा अध्यक्ष बन्न स्नातकोत्तर तथा मातहतका समितिमा नेतृत्वका लागि स्नातक तहको शैक्षिक योग्यता हुनुपर्ने प्रस्ताव गरिएको छ।

पूर्वीय दर्शन, सभ्यता, सनातन संस्कृति र पूर्वीय ज्ञान प्रणालीको संरक्षणलाई पनि अभियानले आफ्नो एजेन्डामा समेटेको छ। संविधानमा प्राप्त अधिकार कार्यान्वयन, अधुरा माग सम्बोधनका लागि संविधान संशोधन, संघीयतालाई अधिकारसम्पन्न बनाउने तथा लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने मागसमेत राखिएको छ।

त्यस्तै भ्रष्टाचारमुक्त तथा सुशासनयुक्त समाज निर्माण, प्रादेशिक पहिचानलाई राष्ट्रियताको आधार र केन्द्रीय पहिचानलाई धर्मसँग जोड्ने तथा ‘संघीय लोकतान्त्रिक हिन्दु गणराज्य’ घोषणा गर्ने प्रस्ताव अभियानले अघि सारेको छ।

अभियानले आगामी १० वर्षमा नेपालको कुल गार्हस्थ्य उत्पादन ४२ अर्ब अमेरिकी डलरबाट ५०० अर्ब डलर पुर्‍याउने तथा प्रतिव्यक्ति आय १५ गुणाले वृद्धि गर्ने लक्ष्य प्रस्ताव गरेको छ। थरुहट–मधेशलाई एक स्वायत्त प्रदेश बनाउने, नेपाल–भारत सीमावर्ती नागरिकलाई सहज आवतजावत तथा दैनिक उपभोग्य वस्तुमा करमुक्त वातावरण निर्माण गर्ने प्रस्तावसमेत अवधारणा पत्रमा समेटिएको छ।

चुरे क्षेत्रलाई संरक्षित क्षेत्र घोषणा गरी चुरे व्यवस्थापनका लागि प्राधिकरण गठन गर्नुपर्ने तथा किसानलाई राज्यका तर्फबाट प्रत्यक्ष रूपमा सुविधा र अनुदान उपलब्ध गराउनुपर्ने अभियानको धारणा छ। साथै राजनीतिप्रति जनतामा बढेको निराशा र वितृष्णालाई आशा र विश्वासमा बदल्ने किसिमको राजनीतिक आचरण निर्माण गर्ने लक्ष्यसमेत ‘हुंकार मधेश’ले अघि सारेको छ।

Download Attachment

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ