पूर्वप्रधानन्यायाधीश जबरा नियन्त्रणमा लिइएको घटनाप्रति प्रभु साहको आपत्ति

समाचार

काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई सुरक्षा चुनौतीको कारण देखाउँदै नियन्त्रणमा लिइएको घटनाप्रति आपत्ति जनाएका छन्।

साहले सामाजिक सञ्जालमार्फत राज्यका विशिष्ट व्यक्तिलाई सुरक्षा चुनौती देखाउँदै नियन्त्रणमा लिनु गम्भीर विषय भएको बताएका हुन्। उनले यस्तो घटनाले कानुनी शासन र नागरिक अधिकारका विषयमा प्रश्न उठाएको उल्लेख गरेका छन्।

उनले राज्यका विशिष्ट व्यक्तित्व नै सुरक्षित नरहेको अवस्था देखिएमा सर्वसाधारण नागरिकको सुरक्षाको अवस्था झन् चिन्ताजनक बन्ने प्रश्नसमेत उठाएका छन्।

‘सुरक्षाको बहाना बनाएर पूर्वप्रधानन्यायाधीशलाई नियन्त्रणमा लिनु गम्भीर चिन्ताको विषय हो। आज राज्यका विशिष्ट व्यक्तित्वहरू नै सुरक्षित छैनन् र कानुनी प्रक्रिया यसरी मिचिन्छ भने भोलि सर्वसाधारणको अवस्था के होला ?’ साहले लेखेका छन्।

साहले घटनालाई गैरकानुनी तथा स्वेच्छाचारी कार्यका रूपमा लिँदै त्यसको विरोध गर्न आग्रह गरेका छन्। उनले नागरिकलाई कानुनी शासनको पक्षमा आवाज उठाउनसमेत आह्वान गरेका छन्।

पूर्वप्रधानन्यायाधीश जबरालाई आइतबार बिहान करिब ३ बजे काठमाडौंको महाराजगञ्जस्थित निवासबाट प्रहरीले नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार उनलाई सुरक्षा चुनौती रहेको सूचना पाएपछि सुरक्षित स्थानमा राख्न उपत्यका अपराध अनुसन्धान कार्यालयमा ल्याइएको हो।

यद्यपि, जबरालाई औपचारिक रूपमा पक्राउ गरिएको हो वा सुरक्षा प्रयोजनका लागि नियन्त्रणमा लिइएको हो भन्ने विषयमा विभिन्न विवरण सार्वजनिक भएका छन्। उपलब्ध विवरणअनुसार उनलाई नियन्त्रणमा लिँदा पक्राउ पुर्जी वा आरोपबारे स्पष्ट जानकारी दिइएको थिएन।

घटनाबारे प्रहरीले थप विवरण सार्वजनिक गरिनसकेको अवस्थामा साहले कानुनी प्रक्रिया, नागरिक अधिकार र राज्यको जवाफदेहिताबारे प्रश्न उठाएका हुन्।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ