जसपा नेपालबाट चार नेताको सामूहिक राजीनामा, ‘हुंकार मधेश’ अभियानमा पूर्णकालिक रूपमा जोडिने

समाचार

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका चार नेताले पार्टीको साधारण सदस्यसमेत नरहने गरी सामूहिक राजीनामा दिएका छन्।

पूर्वसंघीय सांसद तथा पार्टी सदस्य इन्दु कुमारी शर्मा, जसपा नेपालका केन्द्रीय सल्लाहकार सदस्य युसुफ साफी, केन्द्रीय निर्वाचन समिति सदस्य अधिवक्ता घनश्याम शर्मा र युवा नेता पुष्पराज चमनले पार्टीका सबै जिम्मेवारीबाट राजीनामा दिएका हुन्।

राजीनामा दिने नेताहरूले अब आफूहरू ‘हुंकार मधेश’ अभियानमा पूर्णकालिक रूपमा सक्रिय हुने बताएका छन्। उनीहरूले पार्टीको साधारण सदस्यसमेत नरहने गरी जिम्मेवारी त्यागेको जनाएका छन्।

राजीनामा दिनेहरूमध्ये शर्मा पूर्वसंघीय सांसद तथा सहिद परिवारकी सदस्यसमेत हुन्। साफी मधेश केन्द्रित राजनीतिमा सक्रिय युवा नेताका रूपमा चिनिन्छन् भने अधिवक्ता शर्मा जसपा नेपालको केन्द्रीय निर्वाचन समिति सदस्यको जिम्मेवारीमा थिए। चमन पार्टीका युवा नेताका रूपमा सक्रिय रहँदै आएका थिए।

‘हुंकार मधेश’ अभियानले नयाँ राजनीतिक तथा सामाजिक विकल्प निर्माण गर्ने उद्देश्यसहित आफ्नो अभियान अघि बढाइरहेको जनाएको छ। अभियानको औपचारिक घोषणा २०८३ असोज ९ गते गरिएको थियो।

अभियानले आगामी दिनमा सय दिने मेची–महाकाली हुलाकी पुनर्जागरण यात्रा सञ्चालन गर्ने तयारी गरेको छ। अभियानका अनुसार उक्त यात्रामार्फत विभिन्न क्षेत्रका नागरिकसँग प्रत्यक्ष संवाद तथा संगठनात्मक गतिविधि अघि बढाइनेछ।

जसपा नेपालबाट चार नेताको सामूहिक राजीनामासँगै उनीहरू ‘हुंकार मधेश’ अभियानमा पूर्णकालिक रूपमा जोडिनुलाई मधेश केन्द्रित राजनीतिक गतिविधिमा आएको नयाँ राजनीतिक पहलका रूपमा हेरिएको छ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ