जनमत महाधिवेशन : यस्तो बन्यो नयाँ कार्यसमिति, कसले कति मत ल्याए ?

समाचार

काठमाडौं । जनमत पार्टीको अध्यक्षमा डा. सीके राउत पुनः निर्वाचित भएका छन्। वीरगञ्जमा सम्पन्न पार्टीको दोस्रो राष्ट्रिय महाधिवेशनबाट राउत ९५८ मत प्राप्त गर्दै अध्यक्षमा निर्वाचित भएका हुन्।

महाधिवेशनमा अध्यक्ष पदका लागि राउतको मात्रै उम्मेदवारी परेको थियो। यद्यपि, पार्टी विधानअनुसार अध्यक्ष पदका उम्मेदवारले कुल सदर मतको कम्तीमा २० प्रतिशत मत प्राप्त गर्नुपर्ने व्यवस्था रहेकाले मतदान गरिएको थियो।

महाधिवेशनबाट सात जना उपाध्यक्ष पनि निर्वाचित भएका छन्। उपाध्यक्ष पदमा ११ जना उम्मेदवारबीच प्रतिस्पर्धा भएको थियो।

निर्वाचित उपाध्यक्षहरूमा सिरहाकी अनिताकुमारी मण्डल, धनुषाकी अनितादेवी साह, कपिलवस्तुका नरेन्द्रप्रसाद चौधरी, रौतहटका बसन्तकुमार कुशवाहा, सप्तरीका डा. जयकान्त राउत, सिरहाका राजयकुमार यादव र पर्साका माधवप्रसाद सिंह रहेका छन्।

त्यस्तै, जनमत पार्टीको महासचिवमा सञ्जयकुमार यादव निर्वाचित भएका छन्। यादवले ६१८ मत प्राप्त गर्दै महासचिवको जिम्मेवारी हासिल गरेका हुन्।

महासचिव पदमा यादवसँगै ममता झा र चन्दनकुमार सिंह प्रतिस्पर्धामा थिए। झालाई २२० मत प्राप्त हुँदा सिंहले १६५ मत पाएका छन्।

महाधिवेशनमा भएको निर्वाचनबाट पार्टीका सचिवालय तथा केन्द्रीय कार्यकारिणी सदस्यहरू समेत चयन गरिएको छ। यससँगै जनमत पार्टीले आगामी कार्यकालका लागि नयाँ नेतृत्व र केन्द्रीय संरचना पाएको छ।

Download Attachment

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ