एम्नेस्टी जनकपुरधामको बैठक सम्पन्न, मानव अधिकारसम्बन्धी कार्यक्रम गर्ने निर्णय

समाचार

जनकपुरधाम । एम्नेस्टी इन्टरनेशनल नेपाल, जनकपुरधाम युवा समूह–५७ को बैठकले आगामी छठ पर्वपछि मानव अधिकारसम्बन्धी कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ।

समूहका अध्यक्ष मनिष झा श्रीओमको अध्यक्षतामा आइतबार जनकपुरधाममा सम्पन्न बैठकले मानव अधिकारसम्बन्धी जनचेतना अभिवृद्धि, राष्ट्रिय साधारण सभामा प्रतिनिधि चयन तथा आगामी अभियानमा सहभागितालगायतका निर्णय सर्वसम्मतिले पारित गरेको हो।

बैठकले एम्नेस्टी इन्टरनेशनल नेपाल सेक्सनको ३५औँ केन्द्रीय साधारण सभामा सहभागी हुन समूहका अध्यक्ष मनिष झा श्रीओमलाई प्रतिनिधिका रूपमा पठाउने निर्णय गरेको छ। उक्त साधारण सभा आगामी मङ्सिर ११ र १२ गते कर्णाली प्रदेशको सुर्खेतमा आयोजना हुँदैछ।

त्यस्तै, मानव अधिकार संरक्षण तथा प्रवर्द्धनका लागि हेटौँडामा आयोजना हुन लागेको ‘राइट फर राइट्स’ (Write for Rights) अभियान–२०८३ अन्तर्गतको कार्यशालामा समूहका सदस्य उदयचन्द्र यादवलाई सहभागी गराउने निर्णय बैठकले गरेको छ।

स्थानीय समुदायमा मानव अधिकारसम्बन्धी सचेतना विस्तार गर्ने र मानव अधिकार संरक्षण तथा प्रवर्द्धनका गतिविधिलाई प्रभावकारी बनाउने उद्देश्यले आगामी छठ पर्वपछि चालु वर्षभित्र मानव अधिकारसम्बन्धी कार्यक्रम सञ्चालन गर्ने निर्णय पनि गरिएको छ। उक्त कार्यक्रमको तयारी, समन्वय तथा सञ्चालनको जिम्मेवारी समूहकी उपसंयोजक उर्मिला यादवलाई दिइएको छ।

बैठकमा यसअघि सम्पन्न ‘अन्तर्राष्ट्रिय बलपूर्वक बेपत्ता पारिएका व्यक्तिहरूको दिवस–२०२६’ तथा ‘जेनजी स्मृति दिवस’ का अवसरमा आयोजित कार्यक्रमहरूको समीक्षा गरिएको थियो। ती कार्यक्रम सफल बनाउन सहयोग गर्ने सदस्य, सरोकारवाला निकाय तथा सहयोगीहरूप्रति बैठकले आभार व्यक्त गरेको छ।

बैठकको प्रारम्भमा बडादशैँ, दीपावली, छठ पर्व तथा नेपाल संवत् २०८३ को अवसरमा शुभकामना आदानप्रदानसमेत गरिएको थियो।

बैठकले मानव अधिकारका आधारभूत मूल्य, मान्यता र सिद्धान्तको संरक्षण गर्दै स्थानीय समुदायमा सचेतना अभिवृद्धि गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। साथै, मानव अधिकार उल्लङ्घनका घटनाविरुद्ध आवाज उठाउने तथा मानव अधिकारको सम्मान, संरक्षण र प्रवर्द्धनका लागि संस्थागत एकता र आपसी सहकार्यलाई थप सुदृढ बनाउने निर्णय गरेको छ।

एम्नेस्टी इन्टरनेशनल नेपाल, जनकपुरधाम युवा समूह–५७ ले आगामी दिनमा पनि मानव अधिकारसम्बन्धी अभियान तथा कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ