दसैँ, तिहार र छठले राष्ट्रिय एकता र सामाजिक सद्भाव बलियो बनाओस् : अन्सारी

समाचार

काठमाडौं । नेपाल संघीय समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष तथा पूर्व गृह राज्यमन्त्री मोहम्मद रिजवान अन्सारीले बडादसैँ, तिहार तथा छठ पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी, दाजुभाइ, ज्येष्ठ नागरिक तथा आम नेपालीमा हार्दिक मंगलमय शुभकामना व्यक्त गरेका छन्।

अध्यक्ष अन्सारीले यस वर्ष नेपाली जनता प्राकृतिक प्रकोप, राजनीतिक संकट, महँगी तथा विभिन्न सामाजिक र आर्थिक समस्याबीच दसैँ, तिहार र छठजस्ता महत्वपूर्ण पर्व मनाउने तयारीमा रहेको उल्लेख गर्दै सुख र दुःखको संगमका बीच मनाउन लागिएका यी पर्वले सबैमा नयाँ आशा, उत्साह र सकारात्मक ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन्।

उनले यस वर्षका पर्वहरूले नेपाली जनताको समानता, स्वतन्त्रता, सामाजिक न्याय, राष्ट्रिय स्वाधीनता र सुशासनप्रतिको चाहना पूरा गर्न प्रेरणा प्रदान गरून् भन्ने कामना गरेका छन्। साथै, सबै नागरिकले समान अधिकार, सम्मान र अवसर प्राप्त गर्ने समानतामा आधारित समुन्नत नेपालको निर्माण गर्ने संकल्पलाई यी पर्वहरूले थप बलियो बनाउने विश्वास व्यक्त गरेका छन्।

अध्यक्ष अन्सारीले मुलुकमा बढ्दो महँगी र जनतामाथि विभिन्न करको भार थपिँदै जाँदा सर्वसाधारणको जनजीवन कष्टकर बन्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै कठिन परिस्थितिका बाबजुद पनि नेपाली जनताले आपसी सद्भाव, एकता र उत्साहका साथ चाडपर्व मनाउनुपर्ने बताएका छन्।

उनले भने, “हाम्रा चाडपर्व केवल धार्मिक तथा सांस्कृतिक उत्सव मात्र होइनन्, यी आपसी प्रेम, सद्भाव, सहिष्णुता र एकताको प्रतीक पनि हुन्। दुःखमा परेकालाई साथ दिने, अरूको खुसीमा खुसी हुने र सबैको सुखदुःखमा सहभागी हुने हाम्रो परम्परालाई अझ सुदृढ बनाउनु आजको आवश्यकता हो।”

नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक विशेषताले भरिपूर्ण देश भएको उल्लेख गर्दै अध्यक्ष अन्सारीले हजारौँ वर्षदेखि विभिन्न जातजाति, धर्म, समुदाय र लिङ्गका मानिसहरू आपसी मेलमिलाप र सद्भावका साथ बस्दै आएको गौरवशाली परम्पराको संरक्षण गर्नुपर्नेमा जोड दिएका छन्।

उनले एकअर्काको धर्म, संस्कृति, भाषा, भेषभूषा र परम्परालाई सम्मान गर्नु नै नेपाली समाजको मौलिक पहिचान र राष्ट्रिय एकताको आधार भएको उल्लेख गर्दै विविधताभित्रको एकतालाई थप बलियो बनाउन सबैलाई आग्रह गरेका छन्।

अध्यक्ष अन्सारीले चाडपर्वको संवेदनशील समयको दुरुपयोग गर्दै केही राजनीतिक स्वार्थ बोकेका व्यक्ति तथा असामाजिक र आपराधिक तत्त्वहरूले साम्प्रदायिक सद्भाव र सामाजिक एकता खल्बल्याउने प्रयास गर्न सक्नेतर्फ सचेत गराएका छन्।

उनले सम्पूर्ण नेपालीलाई आ–आफ्ना चाडपर्व हर्षोल्लास र शान्तिपूर्ण वातावरणमा मनाउँदै सामाजिक सद्भाव बिथोल्ने, समुदायबीच द्वन्द्व सिर्जना गर्ने तथा नेपाली जनताबीचको एकता कमजोर पार्ने कुनै पनि गतिविधिप्रति सचेत र सजग रहन आग्रह गरेका छन्।

“हामी सबै नेपाली एउटै देशका नागरिक हौँ। हाम्रो धर्म, संस्कृति, भाषा र भेषभूषा फरक हुन सक्छन्, तर हाम्रो राष्ट्रियता, आपसी सम्मान र एकताको भावना एउटै हुनुपर्छ। कसैले पनि आफ्नो राजनीतिक स्वार्थका लागि नेपाली जनताबीचको सद्भाव र एकतालाई कमजोर पार्ने काम गर्नु हुँदैन,” अध्यक्ष अन्सारीको सन्देश छ।

उनले चाडपर्वलाई पारस्परिक सद्भाव, सहिष्णुता, भाइचारा र राष्ट्रिय एकता अभिवृद्धि गर्ने अवसरका रूपमा उपयोग गर्नुपर्नेमा जोड दिँदै सबै समुदायले एकअर्काका पर्वप्रति सम्मान र सद्भाव व्यक्त गर्ने नेपाली परम्परालाई निरन्तरता दिनुपर्ने बताएका छन्।

अन्त्यमा, अध्यक्ष अन्सारीले बडादसैँ, तिहार तथा छठ पर्वले सम्पूर्ण नेपालीको जीवनमा सुख, शान्ति, समृद्धि र खुसी ल्याओस्, प्राकृतिक विपत्ति तथा विभिन्न संकटबाट प्रभावित नागरिकको जीवनमा सहजता आओस् र मुलुकमा सुशासन, सामाजिक न्याय, समानता तथा राष्ट्रिय स्वाधीनता सुनिश्चित हुने वातावरण निर्माण होस् भन्ने कामना गरेका छन्।

उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा पुनः हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सबै मिलेर समावेशी, न्यायपूर्ण, समतामूलक र समृद्ध नेपालको निर्माणमा अघि बढ्न आह्वान गरेका छन्।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ