भैरहवा । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले देशका मुख्य निकायहरु निकम्मा बनाईएको र नेतृत्वहरु पनि नैतिक संकटमा परेको टिप्पणी गरेका छन् । उनले देश पछिल्लो समय सही तवरले नचलेको र ठूलो खतराको संकेत देखिसकेको बताएका हुन् ।
शनिबार अग्रगामी मोर्चाको भैरहवामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशका मुख्य पिलरहरु नै प्यारालाईज बनाईएको र देशलाई असफल राष्ट्र बनाउन खोजिएको टिप्पणी गरेका हुन् । सरकार, संसद् र सेनाबीच समन्वय नहुँदा देशको राष्ट्रियतामाथि नै खतरा उत्पन्न भएको उनको भनाई छ ।
सो क्रममा उनले हिजोमात्रै केही सञ्चारगृहमा सादा पोशाकमा प्रहरी पठाएर आतंक सिर्जना गरिएको र केही पत्रकारहरुमाथि भएको धरपकडको निन्दा गरेका छन् । उनले रास्वपाभित्रको घरझगडाको कारण पत्रकारहरुलाई पक्राउ गरिएको दाबी गरे ।
आजपा अध्यक्ष साहले भने,“हिजो पत्रकारहरुमाथि भएको धरपकडले रास्वपाको घरझगडा उदांगो भयो, पत्रकार पक्राउ गरिएको घट्नाबारे प्रधानमन्त्रीलाई जानकारी नभएको भनिएको छ, अनि देश कसले चलाएको छ त ? प्रधानमन्त्रीमा वालेन्द्र शाह हुनुहुन्छ, अनि उहाँलाई थाहा नहुने तर राज्यमा आतंक मच्चाईएको छ, थाहा कसलाई छ ? रवि लामिछानेलाई ? कि कसलाई छ ?”
उनले गृह प्रशासन अस्तव्यस्त हुनु, प्रहरी नेतृत्वमाथि निरन्तर परेको दबाव र पत्रकारहरुमाथिको धरपकडको घटना बाहिरिएको अवस्थामा गृहमन्त्री सुधन गुरुङको कुनै सक्रियता र प्रतिक्रिया नआउनु आश्चर्यको विषय भएको बताए ।
पूर्वमन्त्री साहले न्याय निरुपणको जिम्मा पाएको न्यायलयमा त्यस्तै चरम संकट देखिएको र एकपछि अर्को गरेर न्यायमूर्तिहरु विवादमा मुछिएको समाचार आउनु अर्को दुःखद् पक्ष भएको उल्लेख गरे ।
उनले नेपालको सुरक्षा निकाय लिकबाहिर गैसकेको र यसका नेतृत्वकर्ताहरु मूल कर्म बिर्सिएर राजनीति गरिरहेको दाबी गरे । नागरिकको जिउधनको सुरक्षा र प्रत्याभूति दिलाउने जिम्मा पाएको प्रहरी प्रशासनलाई प्रहार गरिएको र देश रक्षाको जिम्मा पाएको सेनाले राजनीतिमा अतिरिक्त चासो देखाएको भन्दै उनले यसप्रति देशभक्त नेपालीहरुले चिन्ता गर्नुपर्ने बेला आएको पनि साहले उल्लेख गरे ।
उनले देशका मुख्य दलहरु विघटनतर्फउन्मुख रहेको बताए । उनले भने,“अहिले मुख्य दलहरु आन्तरिक संकटमा छन्, कांग्रेसको कलह, एमालेको झमेला, नेकपामा झगडा व्यापक छ । अहिले अग्रगामी मोर्चा देशलाई सही निकास दिनको लागि विकल्प बनिसकेको छ ।”
तपाईको प्रतिक्रिया