काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले आगामी निर्वाचनसम्म मधेश प्रदेश सरकारमा सहभागी नहुने स्पष्ट पारेका छन् । उनले पार्टीका सबै प्रदेशसभा सदस्यले राजीनामा दिनुपर्ने वा पार्टी छाड्नुपर्ने अवस्था आए पनि सरकारमा सहभागी नहुने निर्णयबाट पछि नहट्ने बताएका छन् ।
राउतको सचिवालयले जारी गरेको वक्तव्यमा आगामी निर्वाचनसम्म जनमत पार्टी सरकारमा सहभागी नभई जनताको बीचमा रहेर सडक संघर्ष गर्ने उल्लेख छ ।
वक्तव्यमा निर्वाचन आउन ६–७ महिना मात्रै बाँकी रहेको अवस्थामा सरकारमा जाने र केही मन्त्रालय लिने चलखेल गर्नु आत्मघाती कदम हुने जनाइएको छ । अहिले सत्ता प्राप्तिभन्दा जनताको बीचमा केन्द्रित हुने र सरकारमा जानुभन्दा संगठन निर्माणमा लाग्नुपर्ने राउतको धारणा छ ।
सचिवालयले विगतमा पदीय जिम्मेवारी, सरकार र सत्ताको लोभका कारण भएका कमजोरी सच्याएर अधिकार प्राप्तिको संघर्षमा केन्द्रित हुनुपर्ने पनि उल्लेख गरेको छ ।
त्यस्तै, मधेश केन्द्रित दलहरूलाई विभाजन गर्ने र कमजोर बनाउने प्रयास भइरहेको भन्दै वक्तव्यमा चिन्ता व्यक्त गरिएको छ । मधेशी दल र नेताहरूलाई बदनाम गर्ने तथा उनीहरूको राजनीतिक शक्ति छिन्नभिन्न पार्ने षड्यन्त्रमा फस्न नहुने जनमत पार्टीको भनाइ छ ।
अग्रगामी मोर्चामा पनि यस विषयमा कडा निर्णय भएको उल्लेख गर्दै सचिवालयले मोर्चा अहिलेसम्म सोही निर्णयमा कायम रहेको विश्वास व्यक्त गरेको छ । बाहिर आएका सरकारमा सहभागितासम्बन्धी चर्चालाई मिडिया ट्रायलका रूपमा मात्र लिनुपर्ने वक्तव्यमा जनाइएको छ ।
अन्त्यमा राउतको सचिवालयले जनमत पार्टी आगामी निर्वाचनसम्म मधेश सरकारमा नजाने र जनताको बीचमा रहेर सडक संघर्ष जारी राख्ने निर्णयमा प्रतिबद्ध रहेको दोहोर्याएको छ ।
तपाईको प्रतिक्रिया