संघीय सरकारको बेवास्तापछि हुलाकी सडक मर्मतमा जुट्यो मौलापुर नगरपालिका

समाचार

रौतहट । हुलाकी राजमार्गअन्तर्गत रौतहटको गोरैता–जयनगर–हरनहिया सडक खण्डको मर्मत तथा निर्माण कार्य मौलापुर नगरपालिकाले सुरु गरेको छ।

संघीय सरकारको कार्यक्षेत्रभित्र पर्ने राष्ट्रिय महत्वको सडक लामो समयदेखि उपेक्षामा परेको र चाडपर्वमा समेत संघीय सरकारले मर्मत नगरेपछि मौलापुर नगरपालिकाकी मेयर रिनाकुमारी साहको विशेष पहलमा मर्मत तथा निर्माण कार्य अघि बढाइएको हो।

गोरैता–जयनगर–हरनहिया हुँदै कलैया र वीरगन्जसम्म जोडिने उक्त सडक चाडपर्वका बेला अत्यधिक व्यस्त हुने मार्गमध्ये एक हो। सडक जीर्ण हुँदा स्थानीय बासिन्दा, यात्रु तथा सवारीसाधनले लामो समयदेखि सास्ती खेप्दै आएका छन्। संघीय सरकारको मातहतमा रहेको सडकको मर्मत तथा निर्माणका लागि सम्बन्धित निकायले प्रभावकारी चासो नदेखाएपछि स्थानीय सरकार आफैँ मर्मत एंव निर्माण थालेको हो ।

यस क्षेत्रका स्थानीय बासिन्दा तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद रवीन्द्र पटेल (धिरज) को घर पनि मौलापुरको सोनरनियामा पर्छ। तर, आफ्नै क्षेत्रको महत्वपूर्ण सडक मर्मत तथा निर्माणका लागि संघीय सरकारबाट आवश्यक बजेट र कार्यक्रम सुनिश्चित गराउन सांसद पटेलले प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको भन्दै स्थानीयस्तरमा आलोचना सुरु भएको छ।

संघीय सरकारको नेतृत्व आफ्नै पार्टीले गरिरहेको अवस्थामा समेत आफ्नै गाउँ र निर्वाचन क्षेत्रसँग जोडिएको सडकको समस्या समाधान हुन नसक्नुले सांसद पटेलको कार्यक्षमतामाथि प्रश्न उठेको स्थानीयको भनाइ छ।

यसअघि एक सार्वजनिक कार्यक्रममा सांसद पटेलले रौतहटका पत्रकारहरूलाई लक्षित गर्दै उनीहरू बिकाउ भएको आशयको अभिव्यक्ति दिएको विषय पनि विवादमा आएको थियो। स्थानीयको आरोप छ, आफ्नो क्षेत्रको विकास निर्माण र जनताका आधारभूत समस्यामा प्रभावकारी पहल गर्नुपर्ने जनप्रतिनिधि त्यसतर्फ केन्द्रित हुनुपर्नेमा पत्रकारलगायत विभिन्न पक्षमाथि आरोप लगाएर आफ्नो जिम्मेवारीबाट पन्छिन खोजिरहेका छन्।

मौलापुर नगरपालिका–५ का स्थानीय सुनिल साहले संघीय सरकारको नेतृत्व गरिरहेको दलका सांसदले आफ्नै गाउँको सडक मर्मत तथा निर्माणका लागि पहल गर्न नसक्नु विडम्बनापूर्ण भएको बताए।

‘संघीय सरकारको मातहतमा रहेको आफ्नै गाउँको सडक निर्माण गराउन नसक्ने, तर अरूमाथि आरोप लगाउँदै हिँड्ने प्रवृत्ति जिम्मेवारीबाट पन्छिने काम मात्रै हो,’ साहले भने।

उनका अनुसार उक्त सडक मर्मत तथा निर्माणका लागि हरेक वर्ष करोडौँ रुपैयाँ विनियोजन हुने गरेको भए पनि त्यसको प्रभावकारी कार्यान्वयन र परिचालन हुन सकेको छैन। सडकको अवस्था सुधार गर्न आवश्यक बजेट र स्रोत परिचालनका लागि सामान्य पहलसमेत हुन नसक्नु दुःखद भएको उनको भनाइ छ।

साहले जनताको दैनिक आवागमनसँग प्रत्यक्ष जोडिएको सडक निर्माणमा राजनीतिक आरोप–प्रत्यारोपभन्दा परिणाममुखी पहल आवश्यक रहेको बताए। उनले संघीय सरकारबाट हुनुपर्ने कामसमेत स्थानीय तहले अघि बढाउनुपर्ने अवस्था आउनु सम्बन्धित जनप्रतिनिधि र सरकारी निकायका लागि गम्भीर प्रश्न भएको उल्लेख गरे।

सडक मर्मत तथा निर्माणको पहल गरेकी मौलापुर नगरपालिकाकी प्रमुख रिनाकुमारी साहप्रति भने स्थानीयले प्रशंसा व्यक्त गरेका छन्। सेवाग्राही र आम नागरिकको आवश्यकता तथा भावनालाई प्राथमिकतामा राखेर नगरपालिकाले काम अघि बढाएको भन्दै स्थानीयले उनको पहललाई सकारात्मक रूपमा लिएका छन्।

रौतहट क्षेत्र नम्बर ३ बाट यसअघि निर्वाचित आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले पनि आफ्नो कार्यकालमा उक्त सडकसहित क्षेत्रका विभिन्न विकास निर्माणका काममा ध्यान दिएको स्थानीयको भनाइ छ। तर, वर्तमान सांसद पटेलले विकास निर्माणका कामलाई प्राथमिकता दिनुको सट्टा पूर्वजनप्रतिनिधि, पत्रकार तथा अन्य पक्षको आलोचनामा बढी समय खर्चिरहेको भन्दै स्थानीयले असन्तुष्टि जनाएका छन्।

स्थानीय बासिन्दाका अनुसार जनप्रतिनिधिको वास्तविक मूल्यांकन भाषण, आरोप–प्रत्यारोप र राजनीतिक प्रचारबाट होइन, जनताले प्रत्यक्ष अनुभूति गर्ने विकास निर्माणका कामबाट हुनुपर्छ। निर्वाचन क्षेत्रका सडक, शिक्षा, स्वास्थ्य तथा पूर्वाधारका समस्या समाधान गर्नु सांसदको प्रमुख दायित्व भएको उनीहरूको भनाइ छ।

हुलाकी राजमार्गको उक्त खण्ड मर्मत तथा निर्माणका लागि मौलापुर नगरपालिकाले थालेको पहलले स्थानीय सरकार जनताको आवश्यकता सम्बोधन गर्न सक्रिय हुन सक्ने उदाहरण प्रस्तुत गरेको छ। यद्यपि राष्ट्रिय महत्वको सडकको दीर्घकालीन स्तरोन्नति र व्यवस्थित निर्माणका लागि संघीय सरकारले आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने आवश्यकता पनि उत्तिकै देखिएको छ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ