भीमफेदी माइक्रोबस दुर्घटनाप्रति जन अधिकार पार्टीद्वारा दुःख व्यक्त

समाचार

काठमाडौं । मकवानपुरको भीमफेदीमा भएको भीषण माइक्रोबस दुर्घटनामा १० जनाको मृत्यु र ५ जना गम्भीर घाइते भएको घटनाप्रति जन अधिकार पार्टीले दुःख व्यक्त गरेको छ ।

पार्टीका अध्यक्ष डा. शरद सिंह यादवले प्रेस विज्ञप्ति जारी गर्दै दुर्घटनामा ज्यान गुमाउनेप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन् । साथै, शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन् ।

पार्टीले दुर्घटनामा घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै नेपाल सरकार तथा सम्बन्धित निकायलाई तत्काल प्रभावकारी उपचारको व्यवस्था गर्न आग्रह गरेको छ ।

विज्ञप्तिमा उपचारमा कुनै कमी हुन नदिन तथा मृतकका परिवारलाई उचित राहत र क्षतिपूर्तिको व्यवस्था गर्न पनि सरकारसँग माग गरिएको छ ।

त्यस्तै, दुर्घटनाको निष्पक्ष छानबिन गरी वास्तविक कारण पत्ता लगाउन र आगामी दिनमा यस्ता दुर्घटना दोहोरिन नदिन आवश्यक सुरक्षा तथा सडक व्यवस्थापनका प्रभावकारी उपाय अवलम्बन गर्न पार्टीले सरकारको ध्यानाकर्षण गराएको छ ।

दुःखको यस घडीमा जन अधिकार पार्टी शोकसन्तप्त परिवारसँगै रहेको विज्ञप्तिमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ