रौतहट । आम जनता पार्टी (आजपा) ले रौतहटका चारवटै निर्वाचन क्षेत्रमा संगठन विस्तार तथा सुदृढीकरण अभियानलाई तीव्र बनाउने भएको छ । पार्टीको जिल्ला कमिटीको विशेष बैठकले निर्वाचन क्षेत्रगत जिम्मेवारी बाँडफाँट गर्दै वडा तथा टोलस्तरसम्म संगठन विस्तार गर्ने निर्णय गरेको छ ।
पार्टीका महासचिव विभुवन साहको विशेष उपस्थितिमा बसेको बैठकले चारवटै निर्वाचन क्षेत्रमा इन्चार्ज र अध्यक्षको जिम्मेवारीसमेत तोकेको छ ।
आजपा रौतहट जिल्ला इन्चार्ज लखिन्द्र साहद्वारा जारी प्रेस विज्ञप्तिअनुसार निर्वाचन क्षेत्र नम्बर १ को इन्चार्जमा उमाशंकर साह र अध्यक्षमा दिनेश सहनी चयन भएका छन् ।
त्यस्तै, निर्वाचन क्षेत्र नम्बर २ को इन्चार्जमा भगवान पटेल र अध्यक्षमा दिलीप कुमार साह, क्षेत्र नम्बर ३ को इन्चार्जमा लालबाबु मन्सुरी र अध्यक्षमा विवेक साह तथा क्षेत्र नम्बर ४ को इन्चार्जमा विद्या सापकोटा र अध्यक्षमा प्रदीप विक्रम साहलाई जिम्मेवारी दिइएको छ ।
बैठकले जिम्मेवारी पाएका नेताहरूलाई आ–आफ्नो क्षेत्रमा संगठन विस्तार, कार्यकर्ता परिचालन तथा जनतासँग प्रत्यक्ष सम्बन्ध स्थापित गर्ने अभियानमा सक्रिय हुन निर्देशन दिएको छ ।
महँगी र कालोबजारीप्रति चिन्ता
बैठकले बढ्दो महँगी, कालोबजारी तथा सीमावर्ती क्षेत्रमा भइरहेका लुटपाट र छिनाझपटीका घटनाप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ ।
महँगीका कारण सर्वसाधारणको जनजीवन प्रभावित भइरहेको र सीमावर्ती क्षेत्रमा असुरक्षाका घटना बढिरहेको निष्कर्ष निकाल्दै बैठकले यस्ता गतिविधि नियन्त्रण गर्न सरकार तथा सम्बन्धित निकायको ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।
पार्टीले जनताको दैनिक जीवनसँग जोडिएका आर्थिक तथा सुरक्षासम्बन्धी समस्यालाई प्राथमिकतामा राख्दै सम्बन्धित निकायलाई जिम्मेवार बन्न आग्रह गरेको छ ।
अग्रगामी मोर्चालाई सशक्त बनाउने
बैठकले पार्टीले अघि सारेको अग्रगामी मोर्चालाई थप सशक्त र प्रभावकारी बनाउने निर्णयसमेत गरेको छ । यसका लागि संयुक्त कार्यक्रम तयार गरी कार्यान्वयन गर्ने तथा राजनीतिक र सामाजिक अभियानलाई समन्वयात्मक ढंगले अघि बढाउने निष्कर्ष निकालिएको छ ।
त्यसैगरी, छठ पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिको शुभकामना व्यक्त गरिएको छ ।
बैठकले पार्टीका नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूलाई निर्णय कार्यान्वयनमा सक्रिय हुन आह्वान गरेको छ ।
जिल्ला इन्चार्ज साहद्वारा जारी विज्ञप्तिमा संगठन विस्तार, जनसरोकारका मुद्दा उठान तथा अग्रगामी मोर्चाका गतिविधिलाई प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरिएको छ ।
तपाईको प्रतिक्रिया