काठमाडौं । मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानी गढीमा भएको दर्दनाक विद्युतीय सवारी दुर्घटनाप्रति नेपाल संघीय समाजवादी पार्टीले गहिरो दुःख व्यक्त गरेको छ । पार्टीले दुर्घटनामा ज्यान गुमाउनेका परिवारलाई उचित राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग गरेको छ ।
पार्टीले प्रेस विज्ञप्ति जारी गर्दै दुर्घटनामा ठूलो संख्यामा नागरिकको ज्यान गएको घटनाले आफूहरू स्तब्ध र मर्माहत भएको जनाएको छ । दुर्घटनामा ज्यान गुमाउने सबैप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवार तथा आफन्तजनमा समवेदना व्यक्त गरेको छ ।
प्रहरीबाट सार्वजनिक विवरणअनुसार दुर्घटनामा ज्यान गुमाउनेमध्ये हालसम्म ११ जनाको पहिचान खुलेको छ । पहिचान खुल्नेमा रविशंकर कुमार मण्डल (३०), बिकेश यादव (२६), पुनम यादव (३५), अनुकुमारी यादव (१०), दिक्षा यादव (७), दिपिका यादव (५), गुड्डु यादव (करिब ३५), गायत्री देवी (३०), रामदुलार यादव (२६), सुबोध यादव (२५) र रोहन यादव (१५) रहेका छन् ।
पहिचान खुलेका मृतकमध्ये ६ जना पुरुष तथा ५ जना महिला र बालबालिका रहेको विज्ञप्तिमा उल्लेख छ ।
पार्टीले दुर्घटनामा घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उपचारमा कुनै कमी हुन नदिन सरकार तथा सम्बन्धित निकायसँग आग्रह गरेको छ ।
त्यस्तै, दुर्घटनाको निष्पक्ष र गम्भीर छानबिन गरी वास्तविक कारण सार्वजनिक गर्न तथा सार्वजनिक यातायातमा अनिवार्य सुरक्षा मापदण्ड प्रभावकारी रूपमा कार्यान्वयन गर्न माग गरेको छ ।
भविष्यमा यस्ता दुर्घटना दोहोरिन नदिन ठोस र दीर्घकालीन उपाय अपनाउनुपर्ने उल्लेख गर्दै पार्टीले दुर्घटनाबाट प्रभावित परिवारलाई तत्काल उचित राहत, क्षतिपूर्ति र आवश्यक सहयोग उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराएको छ ।
यातायात क्षेत्रमा बढ्दो असुरक्षा र कमजोर सुरक्षा व्यवस्थापनप्रति राज्य गम्भीर बन्नुपर्ने पार्टीको धारणा छ । नागरिकको जीवनसँग जोडिएका संवेदनशील विषयमा सरकार तथा सम्बन्धित निकाय जिम्मेवार हुनुपर्ने विज्ञप्तिमा उल्लेख छ ।
पार्टीले दुःखको यस घडीमा शोकसन्तप्त परिवारसँग ऐक्यबद्धता व्यक्त गर्दै दिवंगत आत्माहरूप्रति पुनः श्रद्धाञ्जली अर्पण गरेको छ ।
तपाईको प्रतिक्रिया