थुनुवा कक्षमा अचेत भेटिएका बिरामीको उपचारमा प्रहरी अवरोध

समाचार

9/16/2018

बाँके, १५ भाद्र । नेपाल सरकारका उप प्रधानमन्त्री एंव स्वास्थ्य मन्त्री उपेन्द्र यादवलाई कालो झण्डा देखाएको आरोपमा बर्दियाको गुलरियामा भाद्र ७ गते पक्राउ परेका स्वतन्त्र मधेश गठबन्धनका ४ जना कार्यकर्ता मध्ये एक जना जिल्ला प्रहरी कार्यालय बर्दियाको थुनुवा कक्षमा बिहिबार विहान अचेत अवस्थामा भेटिएका छन् ।

थुना कक्षमा अचेत अवस्थामा भेटिएका बाँकेको पिप्रहवा घर भएका राम मनोहर यादवलाई बर्दिया प्रहरीले तत्काल उपचारका लागि जिल्ला अस्पताल गुलरियामा भर्ना गरे पनि उपचार सम्भव नभएपछि थप उपचारका लागि भेरी अञ्चल अस्पताल नेपालगंजमा भर्ना गरिएको छ ।

भेरी अञ्चल अस्पतालका मेडिकल सुपरीटेण्डन डाक्टर प्रकाश थापाले यादवको उपचारमा कुनै कमी नराख्न अधिकारकर्मीहरुको उपस्थितीमा डाक्टरहरुलाई निर्देशन दिँदै अचेत अवस्थामा रहेका यादवको शरीरमा एक्कासी देखिएको समस्याको पहिचानका लागि एम आई आर तत्काल गरी आईसीयूमा राख्न निर्देशन दिए ।

डाक्टर थापाले यादवलाई प्रेसरका कारण उक्त समस्या भएको हुन सक्ने बताउँदै यादवको अवस्था चिन्ताजनक रहेको बताए । यता यादव जिल्ला प्रहरी कार्यालयको थुनुवा कक्षमा एक्कासी अचेत भएको जानकारी पाए लगत्तै तराई मानव अधिकार रक्षक संजाल (थर्ड एलायन्स) उप प्रादेशिक कार्यालय नेपालगंजका प्रमुख आलम खान भेरी अञ्चल अस्पतालमा पुगी जानकारी लिएका छन् ।

अस्पताल परिसरमा संचारकर्मीहरुसंँग कुरा गर्दै थर्ड एलायन्सका प्रमुख खानले मानसिक वा शारीरिक बिरामी परेका थुनुवा वा कैदहरुलाई सरकारिया चिकित्सकद्वारा उपचार गराउनु पर्ने कारागार ऐन २०१९ को दफा ११ मा उल्लेख गरिएको बताउदै उपचारमा लाग्ने सम्पूर्ण खर्च राज्यले नै व्यहोर्नु पर्ने बताए ।

खानले भेरी अञ्चल अस्पतालको आईसीयू खाली नभएकोले शिक्षण अस्पताल नेपालगंजमा रिफर गरिए पनि यादवको अवस्था चिन्ताजनक हुँदै गएपछि प्रहरीले यादवको उपचारका क्रममा मृत्यु भयो भने परिवारले नै जिम्मा लिनु पर्ने भनी उपचार रोकेर जबरजस्ती कागज गराउन खोजिएको कार्यको घोरनिन्दा गर्दै तत्काल उपचारको व्यवस्था मिलाउन सम्बन्धीत सबै संग अपिल गरे ।

यता जिल्ला प्रहरी कार्यालयको थुनुवा कक्षमा बन्दी जीवन बिताइरहेको अवस्था एक्कासी अचेत हुँदा समेत प्रहरी गम्भीर नहुनु चिन्ताको विषय भएको बताउँदै थर्ड एलायन्सका प्रमुख खानले प्रहरी थुनुवाहरुको स्वास्थ्यप्रति सम्वेदनशील नभएको बताए । उनले थुनुवाहरुको स्वास्थ्य प्रति गम्भीर हुन सम्बन्धित पक्षसँग अपिल गरे ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ